जिपी कोइराला उपचार केन्द्रमा निर्मित आइसोलेशन कक्ष हस्तान्तरण

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइाराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा निर्माण सम्पन्न भएको आइसोलेशन कक्ष भवन हस्तान्तरण गरिएको छ । नेपाली राजनीतिका शिखर पुरुष पूर्वप्रधानमन्त्री स्व गिरीजाप्रसाद कोइरालाको ११औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उक्त भवन उपचार केन्द्रलाई हस्तान्तरण गरिएको हो ।

जिल्लाका दशवटै स्थानीय तहको लागत सहभागितामा निर्माण सम्पन्न भएको भवनको साँचो व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, उपप्रमुख सविता रसाइली, भीमाद नगरपालिकाका उपप्रमुख शारदा खनाल, प्रमुख जिल्ला अधिकारी सागर आचार्यले अस्पताल सञ्चालक समितिका सदस्य राम भण्डारीलाई हस्तान्तरण गरे । लगत्तै अस्पताल सञ्चालक समितिका सदस्य भण्डारीले उक्त साँचो कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठलाई हस्तान्तरण गरे ।

कोरोना महामारीका बेला सङ्क्रमितलाई उपचारको व्यवस्था मिलाउन उक्त भवन निर्माण सुरु गरिएको थियो । भवन निर्माण केही समय अगाडि नै सम्पन्न भए पनि कोइरालाको स्मृति दिवसका अवसरमा हस्तान्तरण गर्ने योजना बनेको थियो ।

रु ७२ लाखमा उपभोक्ता समितिमार्फत सम्पन्न भएको भवनमा शुक्लागण्डकी नगरपालिकाले १४ प्रतिशत, व्यास, भीमाद र भानु नगरपालिकाले १२–१२ प्रतिशत लागत सहभागिता बेहोरेका छन् ।

त्यस्तै देवघाट गाउँपालिकाले पाँच प्रतिशत, घिरिङ, म्याग्दे, ऋषिङ, आँबुखैरेनी र बन्दीपुर गाउँपालिकाले नौ–नौ प्रतिशत लागत सहभागिता बेहोरेको अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए । उक्त भवन ५० श्यया क्षमताको रहेको छ ।

कार्यक्रममा शुक्लागण्डकी नगर प्रमुख किसान गुरुङले सहमति, सहकार्य र सहअस्तित्वबाट सोचेको लक्ष्य पूरा गर्न सकिने जनाउँदै तनहुँका स्थानीय तहबीच सदैव उक्त सहकार्य हुनुपर्नेमा जोड दिए । ‘एउटा पालिकाको प्रयासले मात्रै भवन बनाउन सम्भव थिएन, सबै पालिकाको सहकार्यमा भवन निर्माण गर्न सक्यौँ’, उनले भने, ‘यस्तो सहकार्य भविष्यमा पनि भइरहनेछ ।’

व्यासका नगर प्रमुख वैकुण्ठ न्यौपानेले कोभिड संकटमा जिपी कोइराला उपचार केन्द्रले पुर्याएको योगदानले यसको गरिमा थप उँचो भएको बताए । उपचार केन्द्रको सुधार, स्तरीकरणमा पनि स्थानीय तहको सदैव सहयोग रहने उल्लेख गर्दै न्यौपानेले भने, ‘सुरुमा कुनै पनि अस्पताल कोभिड बिरामी राख्न तयार भएनन्, तर जिपीले देखाएको सक्रियताले कोभिड बिरामीको उपचार गर्न सहज भयो ।’

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले भवन अभावमा नियमित सेवा बन्द गरेर पनि उपचार केन्द्रले कोभिड सङ्क्रमितको उपचारमा देखाएको तत्परता सराहनीय रहेको बताए । उपचार केन्द्रका सञ्चालक समिति सदस्य भण्डारीले भौतिक पूर्वाधारको अभावमा पनि उपचार केन्द्रले कोभिड बिरामीको उपचारमा सम्भव भएसम्मका सबै उपचार गरेको बताए ।

‘अन्तरराष्ट्रियस्तरको गुणस्तरीय सेवा प्रवाहका लागि जिपी सदैव प्रतिबद्ध छ’, उनले भने, ‘त्यसका लागि स्थानीय तहसँग सहकार्य गरेर अगाडी बढ्छौँ ।’ कार्यक्रममा सहभागीले स्व कोइरालाको योगदान भुल्न नहुनेमा जोड दिए । शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन कोइरालाले पुर्याएको योगदान चीरस्थायी भएर रहिरहने वक्ताहरुको जोड थियो ।

प्रतिक्रिया