ललिता निवास प्रकरण : एनआरएनएका प्रतिनिधि साधारण तारेखमा छुटे

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को तर्फबाट विशेष अदालत उपस्थित भएका प्रतिनिधि साधारण तारेखमा रिहा भएका छन्।

संघको तर्फबाट राजेश शमशेर राणा बिहीबार विशेष अदालतमा उपस्थित भएका थिए। न्यायाधीशहरु प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले राणालाई साधारण तारेखमा छाड्न गर्न आदेश दिएको हो। बयानका क्रममा राणाले उक्त जग्गा जफत गर्न नहुने बताएका थिए।

बालुवाटारको ११३ रोपनी जग्गा किर्ते प्रकरणमा एनआरएनएको नाममा रहेको पाँच कित्ता जग्गा जफत गर्ने प्रयोजनका लागि सरकारी पक्षले प्रतिवादी बनाएको थियो। एनआरएनएले ललिता निवास क्षेत्रभित्रका कित्ता नम्बर ७४८, ७५२, ७४४, ७४६ र ७५० को जग्गा खरिद गरेको थियो।

ती जग्गाा एनआरएनएले शोभाकान्त ढकाल, उनको परिवार र रामकुमार सुवेदीको परिवारसँग प्रतिआना २६ लाख ५० हजार रुपैयाँका दरले खरिद गरेको थियो। जसअनुसार एनआरएनएले ४८ आना जग्गा खरिद गर्न कूल १२ करोड ७२ लाख रुपैयाँ खर्चेको थियो।

प्रतिक्रिया