वास्तविक लगानीकर्ता भित्र्याउन लगानी सम्मेलन आवश्यक

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले छिमेकी भारत तथा चीनबाट वास्तविक लगानीकर्ता भित्र्याउने गरी लगानी सम्मेलन गुर्नपर्ने बताएका छन । ठूला परियोजनाहरू पहिलानै तयारी गरि लगानी सम्मेलन गर्न सके बढी फलदायी हुने उनको भनाई थियो । लगानी सम्मेलन लगायतका कार्यक्रम गर्दा त्यो अपेक्षाकृत सफल हुन नसकेको अध्यक्ष गोल्छाको धारणा छ । उनले ‘रेडिमेड प्रोजेक्ट’ सहित छिमेकी भारत तथा चीनबाट वास्तविक लगानीकर्ता भित्रयाउने गरि काम गर्नुपर्ने गोल्छाले बताए । उनले भने,‘देशमा लगानी सम्मेलन त भए तर केही ठूला जलविद्युतमा रहेको प्रत्यक्ष वैदेशिक लगानीलाई छोडेर हेर्ने हो भने अपेक्षित रूपमा विदेशी लगानी आउन सकेको छैन’ । महासंघले भारत, चीन लगायतका बाह्य लगानी आउन सक्ने देशका यहांस्थित दुतावासहरूसंग पनि यस विषयमा छलफल अगाडि बढाएको भन्दै गोल्छाले भने ।

२०४६ सालको परिवर्तन पश्चात मुलुकले अवलम्वन गरेको आर्थिक उदारीकरणको नीतिसंगै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित भई लगानी समेत आएका भन्दै विविधकारणबाट त्यो विस्तार हुन नसकेको बताए । नेपालमा लगानी गरि रहेका बहुराष्ट्रिय कम्पनीले नाफा गरे पनि थप बाह्य लगानी भित्रन नसकेको , त्यसको निक्र्यौल सरकार तथा निजी क्षेत्रको एकिकृत प्रयासबाट मात्र हुने गोल्छाले बताए । नेपालमा कुन क्षेत्रमा विदेशी लगानी खुला गर्ने र कुन क्षेत्रमा नगर्ने भन्ने विषयमा पनि निकै धेरै गृहकार्य जरूरी भएको उनको भनाई छ ।

बाह्य लगानी आकर्षणमा रहेका बाधा हटाउनु पर्ने र विदेशी लगानीकर्ताले लैजाने नाफाको विषयमा पनि थप स्पष्टता जरुरी रहेको महशुस निजी क्षेत्रले गरेको भन्दै गोल्छाले भने,‘वाह्य लगानी आकर्षणको अर्को महत्वपूर्ण पक्ष भनेको कन्ट्री रेटिङ पनि हो जुन हामी भर्खर त्यसको अभ्यास गर्दैछौं । अर्को एकद्वार प्रणालीको प्रभावकारी उपयोगमा सरकारको प्रतिवद्धता आवश्यक देखिन्छ ।’ कोभिडले विश्वमा प्रत्यक्ष वैदेशिक लगानीमा कमी आइरहेको वेला कोभिडपश्चात नेपालमा बाह्य लगानी आकर्षण गर्न अहिलेदेखिनै गृह कार्य गर्न जरुरी भएको निजी क्षेत्रको भनाई छ । नेपाल उद्योग वाणिज्य महासंघको अन्तराष्ट्रिय लगानी प्रवद्र्धन समिति विस्तार कार्यक्रमलाई महासंघ सचिवालयमा संवोधन गर्दै अध्यक्ष गोल्छाले भने,‘समितिले बाह्य लगानी आकर्षणका वास्तविक समस्याहरूको पहिचान सहित महासंघको सुझाव तयार गर्नुपर्छ ।’ समितिको कार्य क्षेत्रनै मुलुकभित्र अन्तराष्ट्रिय लगानी प्रवद्र्धन रहेकाले यसमा ठोस उपलव्धी हुने गरि समितिलाई केन्द्रीत गर्न उनले सुझाव दिए ।

अध्यक्ष गोल्छाले वास्तविक लगानीकर्ताको सहभागितामा लगानी सम्मेलन गर्ने गरी समितिलाई तयारी थाल्न सुझाव दिए । उनले भने,‘ भारत र चीनका नेपालस्थित दुतावाससंग समन्वय गरेर गृहकार्य थाल्नुपर्छ ’ । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल बाह्य लगानी आकर्षणका लागि लालयित छ भन्ने संदेश दिन समितिले कार्य गर्ने विश्वास आफूले गरेकोमा जोड दिए । वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्र प्रत्यक्ष विदेशी लगानी आकर्षण हुन नसक्नुका विषयमा गहिरो अध्ययन गरी महासंघको सुझाव तयार गर्न समितिलाई सफलताको कामना गरे । महासंघका कार्यकारिणी समितिका सदस्य आनन्द कुमार वगाडियाको सभापतित्वमा गठित उक्त समिति विस्तार भएको छ । समितिका सदस्यमा शक्तिकुमार वेगानी, गजेन्द्र भगत, दिवाकार राठी, समिर शर्मा, समीक्षा राई, दिलिप अग्रवाल र दिपिका श्रेष्ठ रहेका छन ।

प्रतिक्रिया