सभापति देउवाद्वारा कोइरालाको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका जिल्ला कार्यसमिति मोरङका पूर्वसभापति, संविधानसभा सदस्य एवं विराटनगर नगरपालिकाका पूर्वप्रमुख अशोक कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

नेता कोइरालाको आज विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा ७७ वर्षको उमेरमा निधन भएको हो । सभापति देउवाले शोक विज्ञप्तिमार्फत कोइरालाको निधनको खबरले आफू निकै मर्माहत भएको उल्लेख गर्दै उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको भूमिका सधैँ प्रशंसनीय भएको बताएका छन् ।

सभापति देउवाले उनिप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । कोइरालाको निधनबाट कांग्रेसले एक असल र निष्ठावान अग्रज व्यक्तित्वसँगै मोरङको भूगोलले एक सरल राजनीतिकर्मी गुमाएको उल्लेख गर्दै कोइरालाले पुर्याएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहने जनाएको छ ।

कोइरालाले प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदा सात वर्ष जेल जीवन बिताएका थिए । स्व कोइराला कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाका भाइ हुन् । स्व अशोक कोइरालाले कांग्रेसका विभिन्न तहमा रहेर सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया