आगलागीबाट ललितपुरमा वृद्धाको मृत्यु

काठमाडौं । ललितपुरमा आगलागीबाट आज एक वृद्धाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ नख्खीपोटस्थित मगरटोल बस्ने ७६ वर्षीया दानदेवी खड्गीको घरमा बिहान आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आगलागीमा परी गम्भीर घाइते भएकी खड्गीको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । आगलागीबाट कोठाका फर्निचर तथा लत्ताकपडा गरी झण्डै रु एक लाख मूल्य बराबरको धनमाल नष्ट भएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

गर्मी बढेसँगै अब आगालागी बढ्ने भएकाले सतर्क हुन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाखयता मात्रै आगलागीका दुई हजार बढी घटना हुँदा ७९ जनाको मृत्यु भएको छ । उक्त घटनामा ३३२ जना घाइते भएका छन् । आगलागीबाट रु एक अर्ब ५९ करोडको क्षति भएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया