‘जुनु स्मारिका स्मृति ग्रन्थ’ पुस्तक विमोचन

काभ्रे । जिल्लाको पनौतीमा ‘जुनु स्मारिका स्मृति ग्रन्थ’ विमोचन भएको छ । गत वर्ष ०७६ चैत ३ का दिन टिपरको ठक्करबाट ज्यान गुमाएकी जुनीमाया गोले र उनकी छोरी स्मारिका भोलनको स्मृतिमा मंगलबार पनौतीमा पुस्तकको विमोचन भएको हो । जुनिमाया गोले र भाञ्जी स्मारिका भोलनको सम्झनामा तयार पारेको सामग्रीलाई जुनी एन्ड स्मारिका क्रियसन प्रालिले प्रकाशनपश्चात् विमोचन गरेको भाइ भूपेन्द्र गोलेले बताए । उनले भने, ‘नामको लागि भन्दा पनि जुनु दिदी र भान्जी स्मारिका भोलनको सम्झनाका लागि ‘जुनु स्मारिका स्मृति ग्रन्थ’ नामक पुस्तक विमोचन गरेको हो ।’

जुनी स्मारिका क्रिएसन प्रालिका अध्यक्ष इन्द्रबहादुर थापाको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले त्यस वेलाको दुर्घटनाले जिल्लामा संवेदनशील बनाएको र टिपर दुर्घटनामा न्यूनीकरण भएको बताए । त्यस्तै माओवादी केन्द्रका नेता इन्द्रबहादुर थिङ(छिन्ताङ)ले जुनिमाया गोले र स्मारिका भोलनको आत्मा शान्तिको लागि त्यतिखेर एउटा लडाइँ लडेको बताए । त्यतिखेरको घटना अहिले पनि सम्झँदा भक्कानिएर आउने उनले बताए । जुनिमायाको मामा तथा माओवादी केन्द्रका नेता मदनसिं तामाङ(पेमा)ले त्यतिखेरको घटना अहिले सम्झँदा पनि जिउमा काँडा उम्रने बताए ।

मृतक जुनुमायाको काका रहरसिं गोलेले छोरी र नातिनी स्वर्गवास भए पनि उनको भावनालाई मर्न नदिनका लागि भतिज राजकुमार गोले र जुनी एन्ड स्मारिका प्रालिका अध्यक्ष इन्द्रबहादुर थापालाई धन्यवाद व्यक्त गरेका थिए । ती घटनाको विषयमा अहिले पनि सम्झँदा भक्कानिएर आउने उनको भनाइ छ ।

एक वर्ष अगाडि ०७६ साल चैत ३ गते पनौतीको बसपार्कमा टिपरको ठक्करबाट खानीखोला गाउँपालिका–५ की जुनीमाया गोले र छोरी स्मारिका भोलनको मृत्यु भएको थियो । जुनीमाया गोले र भाञ्जी स्मारिका गोलेको सम्झनामा उनका दाजु राजकुमार गोलेले ‘जुनु स्मारिका स्मृती ग्रन्थ’ प्रकाशन गरेको छ । उनीहरूको सम्झनामा लेखहरू संकलन गरेर जुनी एन्ड स्मारिका क्रियसन प्रालिले पुस्तक तयार पारेको हो ।

प्रतिक्रिया