शंकर पोखरेलले उठाए नेपाल समूहमाथि प्रश्न

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका नेता शंकर पोखरेले विधि र पद्धतिलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमाथि प्रश्न उठाएका छन् । पार्टीमा सबै विधि र पद्धतिको कुरा गर्नेले अध्यक्ष र महासचिवको सहमतिविनै राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको भन्दै मुख्यमन्त्री पोखरेलले नेपाल समूहमाथि प्रश्न उठाएका हुन् ।

उनले जति रिस उठेको भए पनि घरभित्र सल्लाह गर्नुपर्ने धारणा राखेका छन् । ‘पार्टीको नाममा भेला गर्न अध्यक्ष र महासचिवको सहमति नचाहिने भएपछि के विधि र पद्धतिको कुरा गरिरहनु ? जति रिस उठे नि घर त आफ्नै हो नि…’, बुधबार बिहान मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।

नेकपा एमाले भित्रको विवाद उत्कर्षकमा पुगेपछि वरिष्ठ नेता नेपाल पक्षकले बुधबार र बिहीबार लतिलपुरको सानेपामा राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेका छन् । भेलाको केही समय अगाडि मुख्यमन्त्री पोखरेलले नेपाल समूहमाथि यस्तो प्रश्न उठाएका छन् ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बालुवाटारमा आयोजित चियापान कार्यक्रममा भेला नगर्न र नेता कार्यकर्तालाई भेलामा नजान निर्देशन दिएका थिए । त्यस्तै महासचिव ईश्वर पोखरेले पनि एक विज्ञप्ति प्रकाशित गर्दै भेला नगर्न निर्देशन दिएका थिए । नेपाल समूहले भने मंगलबार नै पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको धम्कीबाट नडराउने र भेला गरेरै छाड्ने बताएको थियो ।

प्रतिक्रिया