एमाले नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आज

काठमाडौं । नेकपा एमालेको माधव–झलनाथ समूहले बुधबार राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ। ललितपुरमा हुने दुई दिने राष्ट्रिय कार्यकर्ता भेलाको व्यवस्थापकीय तथा राजनीतिक तयारी पूरा भएको मंगलबार पत्रकार सम्मेलनमार्फत एमाले नेता योगेश भट्टराईले जानकारी दिएका थिए । यो समूहले बदलिँदो परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापी रुपमा पार्टी पंक्तिलाई त्यस आधारमा अघि बढाउनका लागि राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको हो ।

सर्वोच्चको फैसलापछि केन्द्रीय कमिटीको बैठकका नाममा यही फागुन २८ गते बालुवाटारमा आयोजना गरिएको गुटको भेलाले पार्टीमा थप असहजता, बेमेल र अविश्वास सिर्जना गर्नुका साथै पार्टीलाई विभाजनतर्फ धकेलेको यो समूहको आरोप छ। अवैधानिक र पार्टी एकताविरोधी कदमलाई सम्पूर्ण रुपमा खारेज गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्दै आएको यो समूहको कार्यकर्ता भेलाले उनलाई दबाब दिने बताइएको छ। राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीलाई सुदृढ, एकताबद्ध, क्रियाशील र विधानसम्मत रुपमा अघि बढाउने सम्बन्धमा व्यापक छलफल हुनेछ ।

भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्यहरु, प्रदेश कमिटीका सदस्यहरु, केन्द्रीय कमिटीका पूर्वसदस्यहरु, संघ तथा प्रदेशका सांसदहरु, पूर्वसांसदहरु, जिल्ला कमिटीका पदाधिकारीहरु, सम्पर्क कमिटी र मञ्चका सदस्यहरु, गाउँ तथा नगर कमिटीका अध्यक्ष र सचिवहरु, जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिका प्रमुख तथा उपप्रमुखहरु, जनसंगठन तथा पेशागत संगठनका केन्द्रीय सचिवालयका सदस्यहरुका साथै प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारीहरु गरी दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताहरुको सहभागिता रहने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ।

यो समूहले भेलाको तयारीका लागि भन्दै सातै प्रदेशमा छुट्टै इन्चार्ज र केही विभागीय जिम्मेवारी तोकेको छ। प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिममा भीम रावललाई जिम्मेवारी दिइएको छ। यस्तै युवामा रघुजी पन्त, विद्यार्थीमा गोकर्ण विष्ट, बुद्धिजीवीमा प्रमेश हमाल, प्रचारमा योगेश भट्टराईलाई जिम्मेवारी तोकिएको छ।

प्रतिक्रिया