कलामा सम्पदा

काठमाडौं । कलाले समयको आवाजलाई प्रतिविम्बित गर्दछ । समकालीन परिदृश्यमा भइरहेका यावत् परिघटनाको सांस्कृतिक, बौद्धिक तथा सिर्जनात्मक अभिलेख कलामार्फत भइरहेको हुन्छ । इतिहासका कतिपय घटनाले मानिसलाई युग युगसम्म झस्काइरहन्छ । यही परिदृश्यमा नेपालको इतिहासमा २०७२ साल वैशाख १२ विनाशकारी भूकम्प र त्यसका पराकम्पले पारेको सामाजिक, सांस्कृतिक तथा मानवीय क्षतिको स्मरण लामो समयसम्म रहिरहन्छ । यो प्राकृतिक विपद्को स्मरण नेपालीले विभिन्न सिर्जनशील कर्मबाट गरिरहेका छन् । यही मेसोमा युवाकलाकार कविराज लामाले भूकम्प र त्यसले मानिस, समाज र सम्पदामा पारेको प्रभाव अर्थात् क्षतिलाई कलामा उतारेर इतिहासको एक प्राकृतिक विपद्लाई अभिलेखीकरण गरेका छन्, सिर्जनात्मक कर्ममार्फत । उनले छापाचित्रण÷प्रिन्टमेकिङमार्फत नेपालीलाई झस्काइरहने÷सम्झाइरहने त्यो भूकम्प र त्यसले पारेको त्रासदीपूर्ण क्षतिलाई चित्रण गरेका छन् ।

यतिवेला उनको प्रिन्टमेकिङ कलाको एकल प्रदर्शनी बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा चलिरहेको छ । ‘साइकल्स अफ इम्पेर्मेन्स’ शीर्षकमा भइरहेको प्रदर्शनीमा लामाले सम्पदा र संस्कृतिका विविध विषयलाई कलात्मक रुपमा उधिनेका कला राखेका छन् । उनले इतिहासका विरासतलाई कलाकृतिमा उतार्दै समाजले बिर्सनै नसकिने प्राकृतिक विपद्को घटना र उत्तरदायित्वलाई समेत सचेतनापूर्वक प्रस्तुत गरेका छन् । सांस्कृतिक सम्पदा मानिसका मौलिकताका प्रतीक भएको बताउँदै कलाकार लामाले तिनको महत्वलाई विश्वमै चिनाउने कोशिस गरेर कलाकृति रचना गरेको बताए । उनले भने, ‘हाम्रा धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाका रुपमा काठमाडौं उपत्यकामा रहेका ऐतिहासिक धरोहरको संरक्षण तथा प्रवद्र्धनमा सबै नागरिक तथा राज्यको उत्तिकै दायित्व रहन्छ । सम्पदा सबै मानिसको साझा सम्पत्ति भएकाले तिनको संरक्षणप्रति हामी जागरुक बन्न सकौँ भन्ने अभिप्रायले मैले कलाकृति रचना गरी प्रदर्शनी गरेको हुँ ।’

उनले २०७२ सालको भूकम्पले काठमाडौं उपत्यकामा रहेका मठमन्दिर तथा विश्वसम्पदामा सूचिकृत सम्पदामाथि पुगेको क्षति, भग्नावशेष रूप तथा पुनर्निर्माणको चरण समेटी तयार पारिएका कलाकृति प्रदर्शनीमा राखेको बताए । त्यस्तै, उनका केही कलामा ग्रामीण परिवेशका विषय पनि रहेका छन् । कलाकार लामाले भने, ‘महाभूकम्पपश्चात् सम्पदामाथि पुगेको क्षति देखेपछि तिनका बारेमा अध्ययन, अनुसन्धान तथा अवलोकन गरेँ । त्यसपछि चार वर्ष लगाएर सिर्जना गरेका कलाकृति प्रदर्शनीमा राखेँको हुँ । जसमा समकालीन परिदृश्य र सम्पदाको अवस्थालाई देखाउने कोशिस गरिएको छ ।’

इचिङ, लिथोग्राफी र उडकटबाट तयार पारिएका कलाकृतिमा भग्नावशेष अवस्थामा पुगेका सम्पदा र तिनको पुनर्निर्माणको अवस्थालाई देखाइएको छ । प्रिन्टमेकिङ विधाका स्थापित कलाकार लामाले प्रदर्शनीमा राखिएका कला प्राकृतिक प्रकोपले निम्त्याएको विपत्तिको इतिहास रहेको जिकिर गरे । उनले भने, ‘भूकम्प लगायतका विपद्को विषयलाई कलाकार हुनुको नाताले तिनलाई उतारेको हुँ । हुनत् आपतकालीन समयलाई चित्रण गर्ने हामीसँग तस्बिर प्रमाणका रूपमा रहेका छन् ।

तैपनि मैले ती बिग्रेका र भत्केका सम्पदालाई कलामार्फत अभिलेख गर्ने जमर्को गरेको हुँ ।’ भग्नावेश अवस्थामा रहेका ऐतिहासिक सम्पदाको अवस्था लथालिंग देख्दा मन अमिलो भएको सुनाउँदै कलाकार लामाले भने, ‘ऐतिहासिक सम्पदाको भग्नावेश देख्दा मलाई निकै नरमाइलो लाग्थ्यो । बनाउँदै गरिएका संरचनामा प्रयोग गरिएको शैलीले हामीलाई हाम्रो मौलिकताबाट टाढा लगेजस्तो लाग्यो र मैले कलामार्फत सम्पदालाई चिनाउने र जोगाउने सोच राखी यी कलाकृति रचेँ ।’ यसक्रममा उनले आफ्नो जन्मथलो काभ्रेदेखि काठमाडौं उपत्यका तथा इपिसेन्टर नजिक पुगे र त्यसको प्रभावको अध्ययन गरे । काठमाडौं उपत्यकाका वसन्तपुर, स्वयम्भू, बौद्धनाथ, पशुपति, पाटन दरबारक्षेत्र र भक्तपुर दरबारक्षेत्र लगायतका स्थानमा पुगे र तिनलाई नजिकबाट नियाले । त्यसपश्चात् कलाकार लामाले तिनको महत्व र सांस्कृतिक आयामलाई कलामा उतार्न थाले । चार वर्षको अन्तरालमा उनले यिनै सम्पदाको विषयलाई क्यानभासमा उतार्दै गए ।


यसक्रममा उनले पुनर्निर्माणका क्रममा स्वयम्भू, बौद्धनाथ, पाँचतले मन्दिरमा बाँस तथा फलामको खट लगाएर काम गरेका मानिस र तिनको लगावलाई समेत कलामा उतारे । उनले भने, ‘मैले सम्पदा पुनर्निर्माणका क्रममा बाँस तथा फलामको खट बनाएर काम गरेको देखेँ । यो प्रक्रिया भोलिका पुस्ताले इतिहासको एउटा परिघटनाका रुपमा बुझ्न सकुन् भन्ने ध्येय राखेर कलामा तिनको अवस्था र परिदृश्यलाई देखाएको हुँ । यी कला भविष्यमा यो समयको प्रयोग र माध्यमलाई झल्काउने महत्वपूर्ण दस्तावेज पनि हुनसक्छन् ।’

उनका कलामा इतिहास मात्रै छैनन् सिर्जनात्मक पक्ष र नेपालको समकालीन कलाको वर्तमान परिवेशलाई समेत बुझ्न सकिन्छ । नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले नेपाली प्रिन्टमेकिङ विधामा कविराजका कलाले समसामयिकपनलाई देखाउन सकेको बताए । उनले भने, ‘प्रिन्टमेकिङको मर्म र त्यसको भावलाई गहिरो गरी बोध गरिएका कलामा सम्पदाको अवस्था र तिनको संरक्षणमा सम्बन्धित निकायलाई घच्घचाउने सन्देश स्पष्ट पारिएको छ ।’

प्रदर्शनीमा लामाले भूकम्पपछि सन् २०१८ मा सगरमाथा आधारशिविरमा तयार पारेका प्रिन्टकला पनि राखेका छन् । आधारशिविरमा प्रिन्टमेकिङ कार्यशाला राखेर तयार पारिएका कलामार्फत उनले भूकम्पमा मृत्यु भएकाप्रति समर्पित गरेका छन् । साथै ती कला नेपाली इतिहासका लागि निकै महत्व राख्ने खालका छन् । उच्च स्थानमा पहिलो पटक प्रिन्टमेकिङ विधामा काम गरिएकाले पनि ती कला विशेष रहन गएका हुन् ।

प्रदर्शनीमा राखिएका कला नयाँ पुस्ताका लागि प्रेरणा बन्ने काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले बताए । उनले लामाका कलाले ऐतिहासिक सम्पदाको वस्तुस्थिति र तिनको महत्वलाई दर्शाएको विचार व्यक्त गरे । सिद्धार्थ ग्यालरीका संस्थापक संगीता थापाले कलाले समयको आवाज बोल्नुपर्ने बताउँदै कविराजका कलामा त्यो पक्ष सबल रुपमा आएको बताइन् । उनले भनिन्, ‘कला समयको आवाज हो । त्यसलाई कलाकारले सापेक्षित ढंगले उतारेको पाइन्छ । कलाकार कविराजले पनि विनाशकारी भूकम्प र त्यसले पारेको प्रभावलाई निकै कलात्मक रुपमा कलामा उतारेको पाइन्छ ।’ १९ फेब्रअरीदेखि सुरु भएको यो प्रदर्शनी १९ मार्चसम्म चल्ने ग्यालरीले जनाएको छ ।

प्रतिक्रिया