मार्सी चामल, हजुरबा र माधव नेपाल

पुरुषोत्तम पौडेल

नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई मिलाउन मार्सी चामलको माडको महत्वपूर्ण भूमिका छ । मार्सी चामलको चमत्कारिक भूमिकाले यी दुई पार्टी मिलाउने काम गरेको धेरै सुनियो । देशमा ०७४ सालको आमनिर्वाचनको तयारी चलिरहेको वेला देशमा एक्कासि मार्सी चामलको भयंकर चर्चा चलेको थियो । मार्सी चामलको मिठो भात खान मान्छेहरूलाई प्रेरणा हुने गरी प्रचारसमेत भयो । त्यस यता जुम्लाको मार्सी चामलको व्यापारमा निकै बढोत्तरी पनि भयो । तर, मार्सी चामलको भातको माडले जोडेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता भने टिकाउ हुन सकेन । दुई पार्टीबीच जोडिएको एकता भंग भइसकेको छ ।

मार्सी चामलको स्वादिष्ट भोजन गर्दै गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको फोटो त्यतिखेर निकै भाइरल भएको थियो । दुई अध्यक्षलाई मार्सी चामलको भोजनले जोड्ने व्यक्ति पनि कम भाइरन भएनन् । अहिलेचाहिँ उनको अन्तर्वार्ताको एउटा सानो टुक्रा सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएको छ । पूरै भाइरल भएको छ । दुर्गा प्रसाई (मार्सी चामल) नातामा कमरेड ओलीका नाति पर्दा रहेछन् । अर्थात उनले ओलीलाई हजुरबा भन्ने गर्दा रहेछन् । उनी कमरेड प्रचण्ड उर्फ पुष्पकमल दाहालका पनि निकै करिबी रहेछन् । यसैले दुई नेताहरूलाई नजिक ल्याउन र दुवै पार्टीहरू मिलाउने मिटिङ उनको घरमा नै बढी हुने गरेको समाचार आइरहन्थे । कुरै कुरामा कमरेड ओलीले माधव नेपाललाई एमालेको अध्यक्ष बनाउन नचाहेको र पार्टीमा अरू अध्यक्ष बनाउन योग्य र कुशल नेता पनि नभएको गुनासो गरेछन् । हजुरबुबाका यस्ता कुरा सुनेपछि नाति दुर्गाले चाँडो पार्टी एकता गर्न र एकतापछि दाहाललाई अध्यक्ष बनाउने सल्लाह दिएछन् । उनले दहाल तुलनात्मक रूपले हल्का र सजिला भएकोले हजुरबुबालाई सजिलो हुने सिफारिस गरेछन् । उनका अनुसार त्यसै दिन एकताको लागि तीन बुदेँ सहमति भएको हो ।

यता नेकपा माओवादी केन्द्रका अध्यक्ष दहाल पनि पार्टीलाई अलि फराकिलो बनाउन चहान्थे । साघुरिँदै गएको माओवादी भन्दा एमालेसँग एकता गरेर बन्ने देशको सबैभन्दा ठूलो पार्टीको नेतृत्व गर्न चाहिरहेका थिए । नातिको प्रेरणाले कुरो ¥याङकोठ्याङ मिलिहाल्यो । सम्भवतः मार्सी चामलसँग पोखेको पीडा ओली कमरेडले प्रचण्ड जीसँग नपोख्ने कुरै भएन । दुवैको वर्तमान र आवश्यकता मेल खायो । भोलिको कुरा पनि मिलीहाल्यो । दुई पार्टीको कार्यगत एकता पार्टी एकतामा फेरिने निश्चित भयो । एकजनाको उद्देश्य एकता गरेर माधव नेपाललाई ठीक पार्नु थियो । अर्कोको उद्देश्य नेतृत्व प्राप्त गर्नुथियो । एउटाको उद्देश्य आफ्नो सरकारलाई बलियो बनाउनु थियो अर्कोको उद्देश्य भोलिको तयारी गर्नुथियो । यसमा सहमति भयो । दुनियाँ मतलव भएन । सहमतिमा हस्ताक्षर ठोकियो । अहिले हतपतको काम लतपत भयो । एकता भाँडियो । दुई पार्टीको एकता मात्र भाँडिएन । यति बेला एमालेसमेत दुईतिर फर्किएको छ ।

०४७ सालमा नेकपा माले र नेकपा माक्र्सवादी बीच एकता भयो । नेकपा (माक्र्सवादी) मा अनुभवी र बुढापाका कमरेडहरू हुनुहुन्थ्यो । नेकपा (माले) मा जोशिला युवा र क्रान्तिकारी कमरेडहरू थिए । दुवै पार्टी मिलाएर नेकपा एमाले वन्यो । यसले आमजनताको मन र भावना जित्यो । ०४८ को आमनिर्वाचनमा नेकपा एमाले राम्रो जनमतसहित प्रमुख प्रतिपक्षी पार्टी भयो । ०५१ सालको मध्यावधि निर्वाचनमा नेकपा एमाले संसद्मा सबैभन्दा ठूलो पार्टी बनेर पहिलो निर्वाचित कम्युनिस्ट सरकार बनाउन सफल भयो । त्यसपछि नेकपा एमाले देशको प्रमुख पार्टीको रूपमा रहिआएको छ । आज पनि एमाले देशको प्रमुख पार्टीको रूपमा छँदै छ । तर, दुःखको कुरा स्थापित र संगठित यो पार्टीलाई पनि नराम्ररी भत्काउने षड्यन्त्र बुनिँदैछ ।

यसैगरी ०७४ सालको आमचुनावमा नेताहरूले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर चुनाव लड्ने घोषणा गरे । जनताले स्वागत गरे । संयुक्त चुनावी घोषणापत्र जारी गरे । जनताले संयुक्त उम्मेदवारलाई भारी मत दिएर विजयी बनाए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा संयुक्त सरकार बन्यो । सरकारलाई स्थिर तथा प्रभावकारी बनाउन ०७५ साल जेठ ३ गते दुवै पार्टीबीच पार्टी एकता गर्ने निर्णय गरियो । दुवै पार्टीका अध्यक्षले पार्टीका पछाडि लागेका पुच्छरहरू हटाएर नेकपा बनाउने निर्णय जनतालाई सुनाए । जनताले पहिलेका सबै तीतामिठा कुरा बिर्संदै व्यापक दीपावली गरेर एकतालाई भव्य स्वागत गरे । खुसियाली मनाए ।

हामीले ठान्यौँ नेकपा एमालेको दरो संगठन र माओवादी केन्द्रको क्रान्तिकारी जोश बीचको एकताले समाजमा ठूलो परिवर्तन ल्याउनेछ । मुलुकको विकासले फड्को मार्नेछ । विकृति र विसंगतिको जरो उखलिनेछ । भ्रष्टाचार निर्मुल हुनेछ । तर, आज सरकार गठन भएको तीन वर्ष बितिसकेको छ । पार्टी एकताको अढाई वर्ष मात्र बित्न लागेको छ । हामी फेरी दुईतिर फर्किन वाध्य भइरहेका छौँ । नेकपा त विभाजित नै भइसक्यो । संसद् विघटनको कारण मुलुक पनि विभाजित हँुदै छ । वडो दुःखको कुरा छ । आज संसद् त पुनःस्थापित भएको छ तर नेकपा पनि विघटित भएको छ । नेकपा विघटित भएर नेकपा एमाले र माओवादी केन्द्र वनेका छन् । नेकपा एमाले पनि विभाजनको संघारमा पुग्न लागेको देखिँदै छ । यसले आमजनता पीडित भएका छन् । तर, कमरेड ओलीजीका साइबर सेनाहरू र वहाँहरू हाँसिरहनुभएको छ । अरू नेताहरूमा पनि चिन्ता कमै देखिन्छ ।

प्रसंग फेरी मार्सी चामलको आउँछ । मार्सी चामलको स्वाद लिँदै गरिएको कुराको प्रसंग आउँछ । आफ्ना प्रतिस्पर्धी माधव नेपाललाई पार्टी नेतृत्वमा आउनबाट रोक्ने अभ्यासको रूपमा हजुरबाबाट पार्टी एकता भएको कुरा आज फेरी स्मरण गर्नुपर्ने भएछ । त्यसैको निम्ति प्रचण्ड कमरेडलाई अघि सारेर एकता पछिका दुई वर्ष माड्ने काम पनि भएछ । तर, कालान्तरमा कसैलाई निषेध गर्दा भोलि आपैmँ निषेधमा पर्ने त होइन भन्ने कुरा अर्को पक्षले बुझेर पीडितहरू नै एक ठाउँमा आउने स्थिति बन्ने बित्तिकै पार्टी एकता भंग गर्ने कुरा आएछ । स्वयं अध्यक्ष ओलीले प्रचण्डसँग या त आपूmसँग मिल्न या त एकता भंग गर्न प्रस्ताव राख्नुभएको कुरा सुनिएकै हो । त्यो सम्भव नभएपछि अदालतमार्फत एकता भंग गराइएको हो । अहिले पार्टीहरू समस्याग्रस्त भएका छन् ।

अव दुई पार्टीको एकता मात्र भंग गरिएको विषय रहेन । मार्सी चामलसँगको रहस्य अरू खुल्दै गएको छ । एकता भंग गरेर पुनर्जीवित एमालेमा पनि माधव नेपाल, झलनाथहरूलाई रोक्न अनेक कुप्रचार, जालझेल तथा तिकडम भइरहेको छ । पहिलो : अदालतको आदेशलाई समेत खिल्ली उडाउँदै प्रचण्डले पठाएको भनेर लान्छित गरिँदैछ । यो सरासर बेइमानीबाहेक केही होइन । दोस्रो : अदालतको आदेश मान्ने हो भने जेठ दुई गते अघिको एमालेको बैठक वस्नुपर्ने हो । त्यसपछि मात्र अरू कुराले प्रवेश पाउने हो । यहाँ अदालतको आदेशलाई पनि सिधै अवहेलना गरिसकिएको छ । तेस्रो : आफू माओवादी बटुलेर सरकारमा राख्ने, पार्टीमा थुपार्ने अनि एमालेकै निर्वाचित पदाधिकारीहरूलाई माओवादीले पठाएको भनेर स्याल हुइँया चलाउँदै प्रताडित गर्ने काम हुँदै छ ।

यी सबै फजुल कुराबाहेक केही होइनन् । कुनै पनि नेताले लामो समयसम्म कसै प्रतिको पूर्वाग्रहबाट प्रेरित हुनु र अहं र आत्मतुष्टीकै लागि सरकार र पार्टीलाई समेत खण्डित गर्नु अत्यन्त दुःखद् दुर्घटना हो । अझै समय छ, सबैले आपूmलाई सच्याउँदै अघि बढ्दा मात्र राम्रो हुन्छ । अन्यथा हामी विस्तारै कहा गएर हराउने, बिलाउनेको देशमा भनेजस्तो हुनुको विकल्प छैन । सबैलाई चेतना होस् ।

प्रतिक्रिया