बल्झिदै एमाले विवाद : नेपाल पक्षले गुहार्यो निर्वाचन आयोग

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवादले फेरि विकराल रूप लिने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा असन्तुष्ट पक्ष माधव नेपाल र झलनाथ खनाल पक्षलाई सहभागी नगराई निर्णय गरेकाले त्यसलाई बैधता नदिन माग गर्दै नेपाल– खनाल पक्ष निर्वाचन आयोग गुहार्न पुगेको हो । सर्वोच्चले २३ फागुनमा नेकपा एकीकरण खारेज गर्दै एमाले र माओवादी ब्युँताएपछि ओलीले २८ फागुनमा आफू निकट नेताहरुको बैठक राखेर महासचिवबाहेकका पदाधिकारी हटाउने, नेताहरुको जिम्मेवारी हेरफेर गर्ने र रामबहादुर थापा बादलसहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेका थिए ।

यसको विरोध गर्दै खनाल–नेपाल समूहले ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । त्यसअघि आइतबार आयोग गएको यो समूहले पार्टीको विधान संशोधन राष्ट्रिय महाधिवेशन र विधान अधिवेशनबाट मात्र हुनसक्ने बताएको छ । साथै विधानको धारा ४१ मा पार्टी कमिटीहरुको बैठक आयोजना गर्ने विधि निर्धारण गरिएको भन्दै उनीहरुले भनेका छन्, ‘केन्द्रीय कमिटीको बैठक हुनुपूर्व सचिवालय र स्थायी कमिटी बैठक बसी केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गर्ने नेकपा (एमाले) को विधि, पद्धति र अभ्यास रहँदै आएको छ । त्यसो नगरी बोलाइएको कुनै बैठक र त्यसले गरेका निर्णयहरु पार्टी विधान अनुकूल ठहरिँदैनन् ।’

नेपाल खनाल समूहले एमाले र माओवादी केन्द्रको पुनः एकीकरणको सम्भावनाबारे छलफल गर्न बञ्चित गरिएको समेत बताएका छन् । सर्वोच्चको फैसलामा एमाले र माओवादी केन्द्रले पुनः एकता गर्न चाहे निर्वाचन आयोगमा नजान सक्ने भनेको र आयोगले पनि १५ दिनमा म्याद दिएको भएपनि यसबारे छलफल गर्न बैठक नबोलाइएको उनीहरुले बताएका छन् । खनाल नेपाल समूहका नेताहरुले भने, ‘यसबारे सर्वोच्चको फैसला र निर्वाचन आयोगको सूचना बमोजिम पार्टी एकीकरणको सम्भावनाका सम्बन्धमा केन्द्रीय कमिटीका सदस्यहरुले आफ्नो धारणा बैठकमा राख्नबाट बञ्चित गरिएको छ ।’

पार्टी एकीकरणबारे छलफल गर्न कानूनसम्मत अवसर दिनुपर्नेमा आफूहरुलाई जानकारी नै नदिई बहुमतसमेत नभएको बैठक राखेर निर्णय गर्नु विधान विपरीत भएको उनीहरुको ठहर छ । पार्टी अध्यक्ष ओलीले स्वेच्छाचारी निर्णय गरेको भन्दै खनाल नेपाल समूहले वैधानिक व्यवस्था विपरीतको निर्णय लिई विवरण सच्याउन माग गर्दै आए वैधानिकता नदिन आयोगलाई आग्रह गरेका छन् । आफूहरु पार्टीलाई विधिसम्मत किसिमले सञ्चालन गर्दै एकतावद्ध र एकीकृत बनाइराख्न दृढ रहेको भन्दै उनीहरुले भनेका छन्, ‘अनधिकृत, अवैधानिक र संविधान तथा सर्वोच्च अदालतको फैसलाविपरीतका कुनै पनि व्यक्ति विशेष वा गुट विशेषका निर्णयलाई वैधता नदिन हुनका लागि यो निवेदन पेश गरेका छौं ।’

असन्तुष्ट पक्षलाई बालुवाटारको एसएमएस
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षसहित सबै केन्द्रीय सदस्यहरुलाई चैत ३ गते चियापानका लागि बालुवाटारमा बोलाएका छन् । चैत ७ गतको केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा ओलीले केन्द्रीय सदस्यहरूलाई चियापानका लागि प्रधानमन्त्री निवास बोलाएका हुन् । आइतवार अपरान्ह माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुको मोबाइलमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारीको एसएमएस एकैपटक गएको थियो ।

अध्यक्ष ओलीले एकलौटी ढंगले जिम्मेवारी हेरफेर गरेपछि माधव नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । सो भेलाको अघिल्लो दिन पारेर ओलीले चियापान आयोजना गरेका हुन् । माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूलाई बालुवाटारको एसएमएस आएपछि उनीहरु आफूलाई मात्र आएको हो कि भनेर एक अर्कामा बुझ्न थाले । यसअघि झुक्किएर सुरेन्द्र पाण्डे र राजेन्द्र राईलाई शुक्रबारको बैठकको एसएमएस पुगेको थियो । त्यस्तै हो कि भनेर सोधपुछ गर्दा चियापानको निम्तो अरुलाई पनि गएको रहेछ । चियापानमा जाने वा नजाने भन्नेबारे भने नेताहरुसँग छलफल गरेपछि टुंगो लाग्ने एक केन्द्रीय सदस्यले बताए ।

प्रतिक्रिया