लोकगायक खत्रीको ‘अस्पताल’ सार्वजनिक

काठमाडौं । लोकगायक विष्णु खत्रीको लोकदोहोरी गीत ‘अस्पताल’ सार्वजनिक भएको छ । खत्रीको आफ्नै युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको सो गीतलाई २४ घण्टा नबित्दै ३३ हजार बढी पटक हेरिएको छ ।

गीतमा गायक खत्री र गायिका शान्तिश्री परियारको स्वर छ । शब्द र सङ्गीतसमेत गायक खत्रीले नै दिएका छन् । दिलीप रेग्मीको निर्देशन रहेको गीतको भिडियोमा मोडल सारिका केसी, विमल केसीलगायतको अभिनय रहेको छ ।

युवायुवतीबीचको वियोगान्त प्रेमलाई गीत र भिडियोमा मार्मिकरूपमा चित्रण गरिएको छ । दुई दशकदेखि नेपाली लोकसङ्गीतमा क्रियाशील खत्रीले यसअघि सयौँ गीतमा स्वर दिइसकेका छन् ।

नेपाली जनजीवनका भोगाइलाई गीतमार्फत जीवन्त ढङ्गले प्रस्तुत गर्न सफल गायक–सर्जक खत्रीका ‘भरिया दाइ’, ‘कि लास चाहियो, कि सास चाहियो’, ‘जम्मु कश्मिरमा’, ‘नयाँ जमना’लगायतका गीत धेरै रुचाइएको थियो ।

खत्रीले हालै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा ‘महिला हिंसा’ नामक गीतसमेत सार्वजनिक गरेका थिए । उक्त गीतले हालसम्म युट्युबमा ४३ हजार ‘भ्युअर्स’ बटुलेको बताइएको छ । यस गीत विभिन्न बिरामीको यथार्थ पीडालाई शब्दमा समावेश गरेर ल्याएको गायक खत्रीले बताए ।

प्रतिक्रिया