पाकिस्तान फ्रेन्डसिप टी–ट्वान्टी : ग्रेट हिमालय र एन्जल्स भिड्ने

काठमाडौं । नेपाल पाकिस्तान फ्रेन्डसिप टी– ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि ग्रेट हिमालय क्रिकेट एकेडेमी र एन्जल्स हार्ट एकेडेमी भिड्ने भएका छन् । धुम्बाराहीस्थित पाकिस्तान दूतावासको क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा ग्रेट हिमालयले हाम्रो किचनलाई ३ विकेटले पराजित गर्यो ।

पहिले ब्याटिङ गरेको हाम्रो किचनले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । प्रमोद सिंगमले २७ रन बनाए । यस्तै सुभम अग्रवालले १७ रन जोड्दा निखिल गोयलले १५ रन बनाए । ग्रेट हिमालयका विज्ञान राज गौतमले २ विकेट लिए । हाम्रो किचनले दिएको १ सय ६९ रनको लक्ष्य ग्रेट हिमालयले १९ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । ग्रेट हिमालयको जितमा सुशान्त तिमल्सिनाले ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

दोस्रो सेमिफाइनलमा एन्जल्स हार्टले बल पार्कलाई १९ रनले पराजित गर्यो । पहिले ब्याटिङ गरेको एन्जल्स हार्टले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । उसका लागि दिनेश पुनले ३१ रन बनाए । दिपेश अधिकारीले २९ रन जोडे । बल पार्कका संगमले ३ विकेट लिए । एन्जल्सले दिएको १ सय ८१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बल पार्क अलआउट हुँदै १ सय ६१ रनमा समेटियो । उसका लागि प्रशन्न शाक्यले सर्वाधिक ४० रन बनाए । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

प्रतिक्रिया