अमेरिकामा नेपाली चालकमाथि दुर्व्यवहार गर्ने युवती पक्राउ

काठमाडौं । केही दिनअघि सन फ्रान्सिस्कोमा नेपाली उबर चालकमाथि दुर्व्यवहार र लुटपाट गर्नखोजेको आरोपमा प्रहरीले दुईमध्ये एक जनालाई लास भेगासबाट बिहीबार पक्राउ गरेको छ।

लास भेगास पोलिस डिपार्टमेन्टले २४ वर्षीया मलेसिया किंगलाई त्यहाँको समयअनुसार बिहीबार दिउँसो गिरफ्तार गरिएको जनाएको छ। मार्च ७ मा उक्त घटना भएको थियो। घटनाकाे भिडियाे सामाजिक सञ्जालमा भाइरल भएकाे छ।

त्यस्तै घटनाकी अर्की शंकास्पद २४ वर्षीया अर्ना किमिआई भने अझै पक्राउ परेकी छैनन्। यद्यपि उनी प्रहरीको सम्पर्कमा रहेको र आफैँ उपस्थित हुने जानकारी कानुनी सल्लाहकारमार्फत जानकारी गराएकी छिन्।

यस्तै प्रहरीले ती महिलाले नेपाली युवालाई दुर्व्यवहारमात्र नगरी लुटपाट नै गर्नखोजेको अनुसन्धानबाट खुलेको बताएको छ। उबर ड्राइभर ३२ वर्षीय शुभाकर खड्काले मास्क लगाउन अनुरोध गर्दा ती युवतीहरुले उनीमाथि दुव्र्यवहार गरेका थिए। उनीहरुले खड्कालाई जातीय गाली गर्दै उनको फोन खोसेर मास्क च्यातिदिएका थिए। सन फ्रान्सिस्को प्रहरीले एउटी युवतीले चालकमाथि पिरो स्प्रे समेत छर्किएको जनाएको छ।

प्रतिक्रिया