मिर्गाैला दिवसमा सचेतना र्याली

स्याङ्जा । ‘मिर्गाैला रोगसँगै बाँच्न सिकौँ : स्वास्थ्य मिर्गाैला सबैका लागि सबै ठाउँमा’ भन्ने नारासहित स्याङ्जामा विश्व मिर्गाैला दिवस मनाइएको छ । रोटरी क्लब अफ वालिङले सचेतनामूलक प्रभातफेरी गर्दै दिवस मनाएको हो । उक्त कार्यक्रममा जनप्रतिनिधि, विद्यार्थी शिक्षक, सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो । नेपालको कुल जनसंख्याको १० प्रतिशत मानिस कुनै न कुनै अवस्थामा मिर्गाैला रोगसँग लडिरहेको गह्रौ प्राथमिक अस्पतालका मेडिकल अधिकृत डा. सौरभ अर्याल बताउँछन् । हामीले आफ्नै आचरण सुधार्ने हो भने मिर्गाैला रोगको समस्या निराकरण हुने बताउँदै अर्याल भन्छन्, ‘अत्यधिक औषधिको प्रयोग, पानीको कम प्रयोग, उच्च रक्तचाप र मधुमेहजस्तो कारण मिर्गाैला रोगको समस्या हुने गर्दछ ।’

२० देखि ६० वर्ष उमेर समूहका उत्पादनशील जनशक्ति मिर्गाैला रोगको सिकार हुने गरेको गह्रौ प्राथमिक अस्पताल वालिङ का सि.अ.हे.ब उदय पौडेलले बताए । मिर्गाैला रोगले समस्यामा परेका बिरामीलाई लक्षित गर्दै रोटरी क्लब अफ वालिङले गौतमबुद्ध मुटु अस्पताल बुटवलको सहकार्यमा साढे पाँच करोडको लागतमा डायलाइसिस सेन्टरको स्थापना गर्दै छ । वालिङ–१० फूलबारीमा निर्माणधीन भवनको निर्माण कार्य अन्तिम चरणमा रहेको डुम्रेले बताए । आगामी १ वैशाखबाट डायलाइसिस सेन्टर सञ्चालनमा आउने क्लबले जनाएको छ । अहिले स्याङ्जा भित्रका मिर्गाैला रोगका बिरामी बुटवल पोखरा जानुपर्ने बाध्यता छ । यो सेन्टर सञ्चालनमा आएसँगै स्याङ्जासहित छिमेकी जिल्ला पर्वतका हजारौँ मिर्गाैलापीडित प्रत्यक्ष लाभान्वित हुने विश्वास लिइएको छ ।

सुशील सुवेदी

स्याङ्जा

प्रतिक्रिया