अनाथ बालबालिकाहरूलाई सहयोग

दोलखा । नेपाली सेनाको तारा दल गण चरिकोटले अनाथ बालबालिकाहरूलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । गणले सेना दिवस २०७७ तथा महाशिवरात्रिका अवसरमा बालगृहका बालबालिकालाई खाद्यान्न सामग्री सहयोग गरेको हो । नेपाली सेनाले बालगृहमा रहेका ३० जना आवाज नेपालमा रहेका ३४ जना र आमाको माया छात्रवासमा रहेका १० जना गरी जम्मा ७४ जना अनाथ तथा असहाय बालबालिकालाई लागि पाँच सय किलो चामल, दाल ५१ किलो, चिनी २२ किलो, बिस्कुट पाँच कार्टुन लगायतका खाद्यान्न सामग्री सहयोग गरेको गणका सहसेनानी ईश्वर काफ्लेले जानकारी दिए ।

सेनाले विद्यालय जाने बालबालिकाहरूलाई स्टेसन सामग्रीसमेत सहयोग गरेको सहसेनानी काफ्लेले बताए । सो सामग्री तारा दल गणका गणपति अनिल केसीले बालबालिकाहरूलाई हस्तान्तरण गरेका थिए । सामग्री हस्तान्तरण गर्दै गणपति केसीले दोलखाका अनाथबालबालिकाहरू बसोवास गर्ने स्थानको निर्माण तथा व्यवस्थापनलगायत आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्न नेपाली सेना तयार रहेको बताए । बालगृहमा सहयोग गरेकोमा तारादललाई बालगृहले धन्यवाद दिएको थियो । बालगृहमा हाल देशका विभिन्न क्षेत्रका ३० बालबालिका बस्दै आएका छन् । सानैमा आमाबुबा गुमाएका ६ वर्षदेखि १६ वर्ष उमेरसम्मका बालबालिका बालगृहमा बस्दै आएका बालगृहले जनाएको छ ।

प्रतिक्रिया