बागलुङमा जीप दुर्घटनाग्रस्त : एकको मृत्यु, पाँचजना गम्भीर घाइते

बागलुङ । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि तमानखोला गाउँपालिका–१ पैरातर्फ जाँदै गरेको ग १ ज ५७०५ नम्बरको पिकअप जीप दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परी वडा नं २ की १४ वर्षीया मीना रसाइलीको मृत्यु भएको वडा नं १ का वडाध्यक्ष थमबहादुर रोकाले जानकारी दिए । घटनास्थलबाट उद्धार गरी स्वास्थ्य संस्था ल्याउँदै गर्दा रसाइलीको ज्यान गएको उनको भनाइ छ ।

गम्भीर घाइतेमध्ये तीन जनालाई हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि पोखरा पठाइएको र बाँकी दुई जनालाई पठाउने तयारी भइरहेको छ । चालकसहित सात जना सवार रहेको उक्त पिकअप जीप आज अपराह्न वडा नं १ को महभीरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा एक जना सकुशल रहेको जनाइएको छ ।

ट्र्याक्टरको टायर बोकेर गएको पिकअपले यात्रुसमेत चढाउँदा बढी भार भएपछि दुर्घटना भएको हुन सक्ने प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनालगत्तै प्रहरी र स्थानीयवासी घाइतेको उद्धारमा खटिएका थिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया