‘बि’ डिभिजन लिग : पुल्चोक घटुवामा, खुमलटारको फराकिलो जित

काठमाडौं । पुल्चोक स्पोर्टिङ क्लब सहिद स्मारक ‘बी’ डिभिजनबाट रेलिगेसनमा परेको छ । लिगको अन्तिम खेलमा नयाँवस्ती युवा क्लबसँग २–१ ले पराजित भएसँगै पुल्चोक तेस्रो डिभिजनमा घटुवा भएको हो । लिगमा पुल्चोकले ११ खेलबाट ५ अंक मात्रै जोड्न सक्यो । पुल्चोकले १ जित, २ बराबरी र ८ हारको नतिजा निकाल्यो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा नयाँवस्तीको जितमा अशोक तामाङ र बिवेक गुरुङले गोल गरे । शेरव लो तामाङको गोल सान्त्वना बन्यो ।

खेलको १९औं मिनेटमा अशोक तामाङको गोलबाट नयाँवस्तली अग्रता लिएको थियो । ५८औं मिनेटमा शेरव लो तामाङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६३औं मिनेटमा बिवेक गुरुङले गोल गर्दै नयाँवस्तीलाई २–१ को जित दिलाए । जितसँगै नयाँवस्ती ११ खेलबाट १५ अंक जोडेर छैटौ स्थानमा उक्लिएको छ । यस्तै अर्को खेलमा खुमलटार युथ क्लबले आफ्नो अन्तिम खेलमा एराउन्ड दि मिहालय बाँसबारी क्लबमाथि फराकिलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा खुमलटारले बाँसबारीमाथि ४–० को फराकिलो जजित निकालेको हो । खुमलटारको जितमा आदिल हामिद, प्रशान्त अवस्थी, आयुष घलान र महेश राईले गोल गरे । खेलको १३औं मिनेटमा आदिल हामिदको गोलबाट खुमलटारले अग्रता लिएको थियो । ४१औं मिनेटमा प्रशान्तले गोल गर्दै खुमलटारलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ४८औं मिनेटमा आयुषले गोल गर्दै खुमलटारलाई ३–० ले अघि बढाए । ७७औं मिनेटमा महेशले गोल गर्दै खुमलटारलाई ४–० को फराकिलो जित दिलाए । जितसँगै खुमलटारले लिगको दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ । खुमलटारले ११ खेलमा २५ अंक जोड्यो । सातदोबाटो युथ क्लबले दुई खेल बाँकी छदै लिगको उपाधि जितिसकेको छ । बाँसबारी ११ खेलबाट २१ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया