न्यायीक समिति संयोजक डेढ वर्षदेखि अमेरिकामा मस्त रहेको आरोप

कालिकोट । तिलागुफा नगरपालिकामा न्यायीक समिति संयोजक सम्पर्कबिहिन हुँदा न्यायीक समितिका गुनासा सुन्ने कोही छैनन् । सातदिने भ्रमणमा गएकी उपप्रमुख तथा न्यायीक समिति संयोजक दन्ता नेपाली अमेरिकामै बसेकी छन् । तिलागुफा नगरपालिकाकी उपप्रमूख दन्ता नेपाली दर्शना डेढ वर्षदेखी सम्पर्कबिहीन छन् ।

तिलागुफा नगरपालिका– ३ की उपमेयर दर्शना नगरपालिकामा बिना जानकारी अमेरिका भ्रमणमा गएर २०७६ असोज महिनादेखि सम्पर्कबिहीन भएकी हुन् । उनको सामाजिक सञ्जाल फेसबुकसमेत नचल्ने बनाईएको छ । उनी स्थानिय तहको निर्वाचनभन्दा अगाडि काठमाडौंको पद्मकन्या क्याम्पसमा पढ्दा विद्यार्थी राजनीतिमा सक्रिय थिईन् ।

तत्कालिन एकिकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्यसमेत रहेकी दर्शना तत्कालिन नेकपा माओवादी केन्द्रबाट उमेदवार भएर तिलागुफा नगरपालिका उपप्रमूखमा विजयी भएकी थिइन् । २०७६ साल असोजमा उनी काठमाडौं गएको र कात्तिकमा अमेरिका गएको सामाजिक सञ्जालबाट जानकारी दिएकोमा नेपाली हालसम्म पनि फर्किएकी छैनन् ।

नेपाली कांग्रेस तिलागुफा नगर कार्य समितिले पत्रकार सम्मेलन गरी अमेरिका लुकेर बसेकी उप प्रमूखलाई कारवाही गर्न माग गरेको छ । उप्रमुख नेपाली नआउने भए उपनिर्वाचन गराउनुपर्ने ठाउँमा नगरपालिकाकै मिलेमतोमा उपप्रमुख अमेरिकामा बसेको आरोप नेपाली कांग्रेसको छ ।

तिलागुफा नगरपालिकाले विकासका नाममा भ्रष्टाचार गरेको डेढ वर्षदेखि अमेरिका लुकेर बसेकी उपप्रमूखलाई कारवाही नगरेको, विकासी योजनाहरुमा डुब्लीकेशन गरी अनियमितता गरेको, कार्यकर्ता भर्ति गर्न आवश्यकताभन्दा बढी कर्मचारी नियुक्ति गरेको, नगरपालिकाको राजस्व चुहावट गरेको जस्ता आरोपहरु लगाउँदै नेपाली कांग्रेसले पत्रकार सम्मेलन गरी विरोध जनाएको छ ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता टेकराज शाही, मनराज शाही, अम्मबहादुर शाही, लक्ष्मी शाही, चन्दबहादुर शाही, टिकाराम न्यौपाने लगायतका नेताहरुले १५ बुँदे नगर सरकारले गरेका अनियमितता सार्वजानिक गर्नुका साथै अमेरिका लुकेर बसेकी उपप्रमूख नेपालीलाई कारवाही गर्न माग गरेका हुन् । उनीहरुले स्थानिय सरकारले विकासका नाममा भ्रष्टाचार बढाएको भन्दै यसको विरुद्धमा निरन्तर प्रदाफास गर्ने बताए छन् ।

कांग्रेसले नगरले गरेका गम्भिर अनियमितताहरु भन्दै १५ वटा अनियमितताका बुँदा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । जसमा कोरोना महामारिका नाममा कुल ३ करोड १९ लाख ७९ हजार ४ सय ६६ रुपैयाँ खर्च गरी व्यापक रुपमा अनियमितिता गरेको, नगरपालिकाले ७५ लाख ४३ हजार ३ सय ३० रुपैयाँका १९ वटा कोटेशनहरु आसेपासेलाई वितरण गरी कामै नगरी डुव्लीकेशन गरी भुक्तानी गरेको, नगरपालिकाभित्रको जडिबुटी र बालुवा निकासी करमा चुहावट गरी व्यापक अनियमितता गरेको, आवश्यकता भन्दा बढी कार्यकर्ता भर्ती गर्ने गरी कर्मचारी नियुक्ति गरेको आरोप लगाएको हो ।

त्यस्तै सडकमा पटक–पटक गरी ६ करोड बजेट खर्च गरी सडक निमार्ण नगरेको, ग्यारेज निमार्णको नाममा ५ लाख भुक्तानी दिएर ग्यारेज सञ्चालनमा नल्याएको, स्वास्थ्य चौकी रुडुमा ३ लाखको सामान खरिद गरेको विलभरपाई पेश गरी भुक्तानी दिएको सामान खरिद नगरेको, रुडुबन्चु पर्यटकिय क्षेत्र निमार्णका लागि ठेक्का प्रक्रियाको विओक्यू परिवर्तन गरि ठेक्का रद्ध गरेको, सार्वजनिक शौचालय निमार्णमा १५ लाख बजेट अनियमितता गरेको, सञ्चालक समिति गठन नगरि आफु खुशी एम्बुलेन्स सञ्चालन गरी उठेको पैसा हिनामिना गरेको, पोखरी निमार्णमा ३ लाख बजेट झ्वाम पारेको, जलविद्युत निमार्णका लागि भुक्तानी दिएको अहिलेसम्म सामाग्री पनि नआएको र वडाबाट उठाइएको राजश्व नगरपालिकामा दाखिला नगरि अनियमितता गरेको कांग्रेसले आरोप लगाएको छ ।

यस विषयमा तिलागुफा नगरपालिकाका प्रमूख रतन बहादुर शाहीलाई बुझ्दा प्रतिपक्ष दल भएर सरकारको विरोध गर्नु स्वभाविक भएको बताउँदै स्थानिय सरकारले गरेका राम्रा कामहरुलाई नराम्रो देख्ने नेपाली कांग्रेसको आदत रहेको जिकिर गरे ।

नगरप्रमुख शाहीले कुनैपनि काममा अनियमितता नभएकाले सत्यतथ्य खोजी गरी बाहिर ल्याउन आग्रह गरे । कुनै योजनामा त्रुटि हुन सक्ने तर, सबै नागरिकले विकासको मुल फुटेको बताउँदै गर्दा प्रतिपक्ष दलका नेताहरुले यसो गर्नु र आरोप लगाउनुमा स्थानिय सरकार आफैमा निडर रहेको नगरप्रमुख शाहीको दाबी छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया