खोजखबर

प्रभावकारी बन्दै टेलिमेडिसिन सेवा

सौर्य अनलाइन २०७७ फागुन २५ गते २१:३२ मा प्रकाशित

वालिङ । भिरकोट नगरपालिका–८ मा अवस्थित खिलुङ देउराली स्वास्थ्यचौकीले सुरुआत गरेको टेलिमेडिसिन सेवा प्रभावकारी बन्दै गएको छ । कोभिड–१९ को संक्रमणलाई दृष्टिगत गर्दै गत असोजदेखि सुरु गरिएको सेवाले स्थानीयवासी ज्यादै खुसी भएका हुन् । सेवाअन्तर्गत सुरक्षित गर्भपतन सेवाका बारेमा जानकारी दिइँदै आएको स्वास्थ्यचौकीका प्रमुख दीपेश नेपालीले जानकारी दिए । ‘ग्रामीण भेगमा रहेका महिलालाई लक्ष गरी टेलिमेडिसिन सेवाको सुरुआत गरेका हौँ’, उनले भने, ‘अहिले यो सेवा निकै प्रभावकारी बन्दै गएको छ भने घरमै बसेर पनि सेवा लिन सक्ने अवस्था बनेकाले सहज भएको छ ।’

सेवाका लागि भिरकोट र आइपास नेपालबीच सम्झौता छ । नगरभित्र रहेका ५२ महिला स्वास्थ्य स्वयंसेविका र अनमीलाई अभिमुखीकरण गरेपश्चात् गत ६ असोजदेखि टेलिमेडिसिन सेवाबाट सुरक्षित गर्भपतन र परिवार नियोजन सेवाको सुरुआत गरिएको हो । ‘प्रत्येक वडाबाट महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहने गरी १७ जनालाई छनोट ग¥यौँ’, उनले भने, ‘महिला स्वयंसेविकाहरूसँग गर्भ रहेका महिलाहरूले टेलिफोन, म्यासेन्जर, भाइबर, स्काइपलगायत माध्यमहरूको प्रयोगबाट कुराकानी गर्ने र अनिच्छित गर्भपतन गर्न चाहेमा सुरक्षित गर्भपतन गराउने व्यवस्था मिलाउने कार्य हुँदै आएको छ ।’

सुरक्षित गर्भपतन सेवाका लागि सूचीकृत खिलुङ स्वास्थ्यचौकीमा नौ हप्तासम्मको महिलाको मञ्जुरीमा गर्भपतन गर्न पाउने व्यवस्था रहेको छ । ‘टेलिमेडिसिन सेवा ग्रामीण भेगका महिलाहरूका लागि बढी प्रभावकारी बनेको छ’, प्रमुख नेपालीले भने, ‘स्वास्थ्यचौकीसम्म आउन नभ्याउने वा अझ बढी गोपनीयताका कारण घरबाटै सेवा लिनेहरू बढ्दै गएका छन् भने घरमै बसेर आवश्यक परामर्श पाउने भएकाले पनि सेवाग्राहीहरू निकै खुसी देखिन्छन् ।’

सेवा सञ्चालनका लागि नगरपालिकाले अभिमुखीकरण कार्यक्रम, सञ्चार खर्च, महिला स्वयंसेविकाको मासिक खाजा खर्च, गर्भपतन गराउनेहरूका लागि आवश्यक औषधि तथा सामग्री, निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था मिलाइएको नगर प्रवक्ता दीपेन्द्र केसीले जानकारी दिए । यसको प्रयोगले सेवाको पहुँच विस्तार र सुनिश्चितता भएको तथा प्रविधिको प्रयोग पनि बढ्दै गएको उनको भनाइ थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय