मध्यावधिको मुडमा कांग्रेस

काठमाडौं । सत्तारुढ तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएके राजनीतिक परिवर्तनसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस मध्यावधि निर्वाचनको पक्षमा उभिन थालेको छ । राजनीति थप जटिलतर्फ उन्मुख भएको भन्दै मध्यावधि निर्वाचनमा जानुपर्ने धारणा कांग्रेसका नेताहरुले राख्न थालेका हुन् । प्रतिनिधिसभा विघटन हुँदा संवैधानिक संकटका कारण निर्वाचनमा जाने निर्णय गर्न नसकेको कांग्रेस अहिले भने त्यसको आवश्यकता गर्न थालेको छ । विशेषगरी सभापति शेरबहादुर देउवाले त्यसबेला मै निर्वाचनमा जाने मुड बनाएपनि वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाले त्यसको विरोध गरेको थियो । तर, अहिले भने देउवा भन्दा पौडेल समुह नै निर्वाचनको पक्षमा देखिएको हो । तर, कांग्रेसले मध्यावधिमा जानुपर्ने निर्णयमा हतारो नगर्ने र केही समय कुरेर परिस्थिति हेरेर परिपक्व निर्णय गर्ने संकेत गरेको छ ।

निर्वाचन नै अहिलेको राजनीतिक संकटको निकासको माध्यम हुनसक्ने र संवैधानिक रुपमै निर्वाचनमा जाने अवस्था आउनसक्नेतर्फ सचेत देखिएको छ । त्यसैले कांग्रेस अब निर्वाचनमा होमिने मुडमा देखिएको कांग्रेसका नेताहरु बताउछन् । वरिष्ठ नेता पौडेलले पछिल्लो अवस्थाका बारेमा पार्टीभित्र छलफल गरेर निष्कर्ष निकालिने बताए । ‘एकपछि अर्को गर्दै समस्या आएका छन्, यो जटिलताबाट बाहिर निस्कन के गर्न सकिन्छ भनेर अब हामी पार्टीभित्र छलफल गर्छौं’,वरिष्ठ नेता पौडेलले भने, ‘हाम्रो मुख्य जिम्मेवारी संविधान र लोकतन्त्रको रक्षा गर्ने हो । संविधान र लोकतन्त्रको रक्षा कसरी हुनसक्छ भनेर हामी पार्टीभित्रको छलफलबाट निष्कर्षमा पुग्छौं ।’

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का परिस्थिति एकपछि अर्को गर्दै जटिल बनिरहेको भन्दै त्यसको निकास अनिवार्य भएको बताउँछन् । विगतमा निर्वाचन आयोगले निर्णय नगर्दा अन्योलमा रहेको नेकपा सर्वोच्चको आदेशपछि विधिवत रुपमै दुईवटा भएको भन्दै अब संसद्मा कोहीसँग पनि बहुमत नरहेको अवस्था आएको बताए । ‘यस्तो अवस्थामा अझै पनि ठूलो पार्टी नेकपा एमाले हो, उसले कसरी अघि जाने बाटो तयार गर्छ केही दिन हेर्नुपर्ने हुन्छ’, महामन्त्री खड्काले भने, ‘निर्वाचन हुने नहुने भन्ने कुरा उहाँहरुको निर्णयमा नै भर पर्ने अवस्था छ ।’

कांग्रेसले तत्काल सरकारमा दाबी समेत नगर्ने भएको छ । अदालतको आदेशपछि एमाले सबैभन्दा ठुलो दल भएको र आफुहरु दोस्रो दल भएको भन्दै सरकार टिकाइराख्ने वा नयाँ बनाउने अधिकार एमालेको भएको बताएको छ । संसद्मा दोस्रो हैसियतमा रहेकाले जनमतअनुसार सरकार चलाउने म्यान्डेट आफूलाई नभएको भन्दै म्यान्डेट प्राप्त दलले चलाउन नसकेको स्वीकार गरे कांग्रेसले आफू नेतृत्वको सरकारमार्फत चुनाव गराउनेछ ।

प्रतिक्रिया