नारी दिवसको अवसरमा क्यान्सर सचेतना

स्याङ्जा । १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा समुदायस्तरीय क्यान्सर सचेतना तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी शिविरको आयोजना गरिएको छ । लायन्स क्लब अफ वालिङ ग्रिन होमले आयोजना गरेको उक्त शिविरमा १ सय ८० जना महिलाले स्वास्थ्य परीक्षण गराएका थिए ।

उक्त शिविरको उद्घाटन गर्दै वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले नगरभित्र भएका २८ हजार महिलालाई पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षणको अभियान चलाउने बताइन् । उनले भनिन्, ‘समयमा उपचार नगराउँदा अकालमा ज्यान गुमाउनपर्ने समस्याको अन्त्य गर्न नगरपालिकाले १४ वटै वडामा परीक्षण तथा शल्यक्रियासमेत प्रदान गर्नेछ ।’ वालिङ नगरपालिकाले विपन्न महिलाहरूलाई स्वास्थ्य बिमा र निःशुल्क पाठेघरसम्बन्धी उपचार गरिदिने उपप्रमुख तिवारीले बताइन् ।

महिलाहरूले पाठेघर तथा स्तनको रोग परामर्श गर्न लाज मान्ने गरेको कारण यस्ता समस्या भित्रभित्रै लुक्ने गरेको नेपाल अर्बुद रोग निवारण संस्था कास्कीका सभापति प्रेम ब. भुजेलले बताए । भुजेलने भने, ‘महिलाहरूले लाज मानेकै कारण समयमा रोगको पहिचान हुँदैन । अन्तिम अवस्थामा चेकजाँच गर्ने समस्या अझ ग्रामीण भेगमा अत्यधिक छ । यही समस्या निराकरण गर्न यस्ता शिविरले महत्वपूर्ण भूमिका खेल्छ ।’

वालिङ उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको शिविरमा १ सय ८० जनाले सेवा लिएको लायन्स क्लब अफ वालिङका अध्यक्ष सजना कँडेलले बताइन् । लायन्स क्लब अफ पोखरा ग्रिन टाउनका अध्यक्ष कविता गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ वालिङका प्रथम उपाध्यक्ष तेजन रानाले गरेका थिए ।

प्रतिक्रिया