‘परिश्रमी’ का दुई कृति

काठमाडौं । कवि तथा गीतकार डिपी दाहाल ‘परिश्रमी’ को पुस्तक ‘अन्तर्मनका सुसेली’ र गीति भिडियो ‘क्षितिजपारी’ सार्वजनिक भएको छ । शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशी र संगीतकार शम्भुजित बाँस्कोटाले उक्त कृतिको एकसाथ विमोचन गरे । कार्यक्रममा जोशीले कवि तथा गीतकार दाहाल लगायतको भिडियोको टिमलाई बधाई दिँदै निर्देशन र कलाकारको अभिनयले भिडियोलाई जीवनदान दिने काम गरेको बताए ।

उनले पुस्तक ‘अन्तर्मनका सुसेली’ को पनि प्रशंसा गर्दै यस पुस्तकको बारेमा चर्चा गरे । संगीतकार बाँस्कोटाले कवि तथा गीतकार दाहालले आफ्नो धेरै पेशा भए पनि गीत, संगीत विधाले आफूलाई जगाइरहने र बचाइरहने काम गरेको बताए । गायक प्रताप दास र गायिका रचना रिमालले गाएको ‘क्षितिजपारी’ बोलको गीतमा पुरुषोत्तम न्यौपानेले संगीत भरेका छन् । यसको भिडियोको निर्देशन उत्तम श्रेष्ठ शिशिरले गरेका छन् ।

गीतको भिडियोमा सुधिर श्रेष्ठ र अशु न्यौपानेको अभिनय छ । भिडियोलाई सिनेमाटोग्राफर ज्ञानेन्द्र हुमागाई शर्माले खिचेका छन् भने अमृत चापागाईले सम्पादन गरेका छन् । यो गीत डिलाइटेड युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया