प्रेस युनियन, प्रेस संगठन र प्रेस मञ्चबीच सहकार्य

इलाम । नेपाल पत्रकार महासंघ इलामको आसन्न निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न पत्रकारजन्य संगठनहरू सहकार्य गर्न सहमत भएका छन् ।ने पाली कांग्रेस निकट नेपाल प्रेस युनियन, ओली नेतृत्वको पार्टी निकट प्रेस संगठन नेपाल र जनता समाजवादी पार्टी नेपाल निकट प्रेस मञ्च नेपालबीच सहकार्य गरेर नेतृत्व चयन गर्न सहमत भएका हुन् । शनिबार अबेरसम्म भएको संयुक्त छलफलपछि सहमत भई सर्वसम्मत नेतृत्व चयनसम्बन्धी सहमतिपत्रमा तीनै संगठनका प्रतिनिधिले संयुक्त हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार नेपाल प्रेस युनियनले अध्यक्ष र महिला उपाध्यक्ष पदसहित ६ स्थान पाउने भएको छ । ओली निकट प्रेस संगठनले उपाध्यक्ष र सचिव पदसहित चार स्थान पाउने भएको छ । त्यसैगरी प्रेस मञ्चले समावेशी सहसचिव र कोषाध्यक्ष पदसहित तीन स्थान पाउने भएको छ । सहमतिपत्रमा प्रचण्ड–नेपाल प्रेस संगठनलाई समावेश गरिएको छैन । तर, कार्यसमितिमा प्रचण्ड–नेपाल निकट प्रेस संगठन नेपाललाई तीन स्थान छुट्याइएको छ ।

सो संगठनलाई सहसचिव र दुई सदस्य छुट्याइएको सहमतिपत्रमा उल्लेख छ । सहमति पत्रमा नेपाल प्रेस युनियनका युवराज भट्टराई (विप्लव), ओली निकट प्रेस संगठनका रोहितचन्द्र भट्टराई र प्रेस मञ्चका राम योङहाङले हस्ताक्षर गरेका छन् । सहमतिको रोहवरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जवेगू र प्रदेश–१ का उपाध्यक्ष सोम सुसेलीले हस्ताक्षर गरेका छन् ।

यसअघि नेपाल प्रेस युनियन र प्रेस मञ्च नेपालले कार्यगत एकता गरी संयुक्त उम्मेद्वारी घोषणा गरेका थिए । सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्न भन्दै उनीहरूले अध्यक्ष र सचिवमा मात्र उम्मेद्वारी घोषणा गरेका थिए । युनियनका युवराज भट्टराई (विप्लव)ले अध्यक्ष र मञ्चका राम योङहाङले सचिवमा उम्मेद्वारी घोषणा गरेका थिए ।

प्रतिक्रिया