सशस्त्रद्वारा प्रदेश–२ का सबै जिल्लामा सिसी टिभी जडान सुरु

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश–२ महोत्तरीले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा चोरी तस्करी नियन्त्रण गर्न प्रदेश–२ को आठ वटै जिल्लामा सिसी टिभी जडान गर्न थालेको छ । भारतीय सीमासँग जोडिएको प्रदेश–२ को सप्तरी जिल्लादेखि पर्सा जिल्लासम्म ४ सय ६४ किलोमिटर जोडिएको सीमामा हुने आपराधिक गतिविधि तथा चोरी तस्करीलाई नियन्त्रण गर्न सीमा क्षेत्र तथा पूर्व–पश्चिम राजमार्गको मुख्य ठाउँमा करिब दुई सय जति सिसी टिभी जडान गर्न लागिएको प्रदेश–२ का सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले बताए ।

बाहिनीले पछिल्लो तीन महिनामा अवैध रूपमा भारतबाट नेपाल भित्रिने तथा नेपालबाट भारततर्फ तस्करी हुन लागेका विभिन्न सामग्री लगायतका सामानहरू बरामद गरी १२ करोड ६५ लाख रुपैयाँ राजस्व दाखिला गराएको छ । प्रदेश–२ मा रहेको बाहिनीले ०७७ मंसिर १५ देखि फागुन १५ सम्म अवैध रूपमा भित्रिएका पशु चौपाया, सवारी साधन र सवारी साधनको १ करोड ३६ लाख र अन्य सामानहरूको ७ करोड २० लाख २२ हजार ८ सय ९५ सहित तीन महिनामा १२ करोड ६५ लाख ६१ हजार ५ सय २५ रुपैयाँ राजस्व दाखिला गरेको बाहिनीले जनाएको छ ।

यसबीचमा ६ नम्बर गण सप्तरी, ७ नम्बर गण सिरहा, ८ नम्बर गण धनुषा, ९ नम्बर गण महोत्तरी, १० नम्बर गण सर्लाही, ११ नम्बर गण रौतहट, १२ नम्बर गण बारा र १३ नम्बर गण पर्साले २ सय ६० केजी गाँजा, २ हजार १ सय ८८ वटा डाइजोपाम, २ हजार ३ सय ३३ वटा फेनार्गन, दुई सय पत्ता नाइट्रोभेट लगायतका लागूऔषध बरामद गरेको छ भने यसबीचमा नक्कली पेस्तोल एक नाल, कुटुवा पेस्तोल दुई नाल, सेमी अटोमेटिक पेस्तोल एक नाल र दुई राउन्ड म्याग्जिन बरामद गरेको छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र डिआइजी चन्द्रप्रकाश गौतमले जानकारी दिए ।

बाराको सिम्रौनगढ नगरपालिका–९ बाँसबारीमा जडान गरिएको तीन वटा सिसिटिभी क्यामरा सञ्चालनमा रहेको छ भने सोही नगरपालिका–१ मा तीन, बेल्दारीमा दुई, कलैया उपमहानगरपालिका–१० मटिअर्वामा तीन, महागढीमाई नगरपालिका–७ बेनौलीमा तीन वटा क्यामरा सञ्चालन रहेको छ भने बरैनियामा तीन र कवहीगोठ–२ मा क्यामराको सामान उपलब्ध भए पनि त्यो अहिले सञ्चालनमा आएको छैन । यसैगरी पर्साको वीरगञ्ज महानगरपालिका–१६ को भन्सार मूलद्वारमा चार, वीरगञ्ज महानगरपालिका–१ प्रगति नगरमा तीन, आदर्शनगरमा तीन, अलौमा चार, अमरपटीमा तीन, छिपहरमाई गाउँपालिका–५ भिस्वा सीमा क्षेत्रमा तीन, ठोरी गाउँपालिका–५ सुर्वणपुर बाघमोर्चामा तीन, सोही गाउँपालिका–२ ठुटे खोला र बजारमा दुई वटा क्यामरा जडान गरिने लक्ष्य रहेको डिआइजी गौतमले बताए ।

ती जडान भएका सिसी टिभी क्यामराको सशस्त्र प्रहरीको जिल्ला कार्यालय तथा प्रदेश–२ को मुख्यालयबाट सीमा क्षेत्रको गतिविधि हेर्न सकिने व्यवस्था गरिएको छ । यसैगरी सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीले आचरणविपरीत काम गरेको भन्दै प्रदेश–२ भरी आठ सशस्त्र अधिकृतसहित ६० भन्दा बढीलाई कारबाही गरिएको बाहिनीले जनाएको छ ।

प्रतिक्रिया