देशका केही स्थानमा हिमपात र वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपातको सम्भावना रहेको । पश्चिमी वायुको आंशिक प्रभावले सोमबार बेलुकासम्म देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।

ठूलो पानी पर्ने सम्भावना भने नरहेको तथा मङ्गलबारदेखि मौसम सुधार हुने मौसमविद् शान्ति कँडेलले बताइन् । उनका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।

देशका पहाडी भू–भागमा राति सामान्य बदली भई गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानका साथै वाग्मती र प्रदेश १ का एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २४ दशमलव ३ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव सात डिग्री सेल्सियस छ ।

प्रतिक्रिया