बलात्कार गरी गर्भवती बनाएको आरोपमा पक्राउ

सप्तरी । बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले विष्णुपुर गाउँपालिका–५ बोरियाका ३५ वर्षीय मोहम्मद रहमुल मियाँलाई आज पक्राउ गरेको छ ।

आरोपितले २०७७ जेठ २६ गते बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा गत असोज २९ गते उजूरी दिएकी थिइन् । आफ्नो घरको कोठामा बसिरहेका बेला कोही नभएको मौका छोपी घर पसी मूल ढोका लगाई ओछ्यानमा लडाएर बलात्कार गरेको पीडितले बताइन् ।

पीडितले जिल्ला प्रशासन कार्यालयमा समेत २०७७ कात्तिक ३ गते उजूरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालयले कात्तिक ४ गते उजूरी दर्ता गरे पनि पक्राउ नपरेका आरोपितलाई गाउँघरमै लुकेर बसेको अवस्थामा आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए । बलात्कारबाट गर्भवती बनेकी पीडितबाट राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गत कात्तिक १५ गते छोराको जन्म भएको थियो ।

दुर्घटनामा घाइते महन्थको मृत्यु

सवारी दुर्घटनामा घाइते भएका महन्थ ब्रम्हदेव साह भनिने ६५ वर्षीय रेखा दासको उपचारका क्रममा आज मृत्यु भएको छ । विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए ।

शम्भुनाथ नगरपालिका–५ तारखोला पुलस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार राति बा।४० प २२१५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा रौतहटको देवाही गोनाही नगरपालिका–९ घर भई इटवालस्थित राम मन्दिरका महन्थ दास गम्भिर घाइते भएका थिए ।

पूर्वबाट पश्चिमतर्फ जादै गरेको मोटरसाइकलले दासलाई बाटो काटने क्रममा ठक्कर दिएको थियो । प्रहरीले मोटरसाइकल चालक शम्भुनाथ–६ का ३० वर्षीय रमजानी मियाँलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया