दुई पालिका जोड्ने पुलको उद्घाटन

स्याङ्जा । स्याङ्जाको विरुवा गाउँपालिकाको ज्याग्दीखोलामा निर्माण गरिएको भुवनघाट पुलको उद्घाटन गरिएको छ । विरुवा गाउँपालिका–६ चिन्नेबास हुँदै चापाकोट जोड्ने ५० मि. लम्बाइको पुलले दुई पालिका मात्र होइन स्याङ्जा भीमाद हुँदै कास्कीसम्मको सडक सञ्जालसमेत जोड्नेछ । तत्कालीन जिल्ला विकास समितिको स्थानीय सडक पुल कार्यक्रमअन्तर्गत २ करोड ६१ लाखको लागतमा यो पुलको निर्माण कार्य सम्पन्न भएको हो ।

हिमदुङ नाना ब्रदर्स जेभी पोखराले ७७ असारमा यो पुल सम्पन्न गरेको भए पनि बिहीबार विधिवत उद्घाटन गरिएको हो । उक्त पुलको कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले उद्घाटन गरिन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले वर्तमान सरकारले जनताले देखिने गरी विकास निर्माणको काम गरेको बताइन् । जनतालाई आवश्यक पर्ने पुल सरकारले बनाउने बताउँदै उनले भनिन्, ‘सरकारले तल्लो स्तरमा जनताले देख्ने र अनुभूत गर्ने योजना लिएर आएको छ । तर केही झुण्डले विकास भएन भन्दै प्रचार गरिरहेका छन् ।’

भुवनघाट पुलको उच्च प्रयोग गर्न सके चिन्नेबास र विरुवावासीलाई यो पुल आर्थिक समृद्धिको आधार बन्न सक्ने मन्त्री अर्यालले बताइन् । ज्याग्दीखोलाको फाँटमा सामूहिक खेती प्रणालीको विकास गर्दै उत्पादित वस्तु पोखरा, वालिङ र कालीगण्डकी करिडोर हुँदै तराईसम्म निर्यात गर्न सकिने अर्यालले बताइन् । वर्षातको समयमा ज्याग्दीखोला वारपार गर्न नसक्दा समस्यामा परेका सर्वसाधारणले अब भने बाह्रै महिना यातायातको साधन प्रयोग गर्न सक्नेछन् । ज्याग्दीखोला फाँटको कृषिजन्य उपजले देशका सहरहरूमा बजार पाउनेछ । यता गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्स सेवा थप प्रभावकारी हुनेछ भने ग्रामीण भेगका जनताले कृषि, स्वास्थ्य र यातायातको पहुँचाट प्रत्यक्ष लाभान्वित हुन सक्नेछन् ।

प्रतिक्रिया