प्रहरीलाई हाउस वायरिङ तालिम

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले चलाएको ‘आई लभ यु बुढी’ को अभियान जिल्लामा मात्र होइन देशभर लोकप्रिय बन्यो । प्रहरीको जीवनमा पारिवारिक सुख ल्याउन यो अभियान ल्याइएको थियो । सेवा अवधिभर घरपरिवारलाई दैनिक सम्झनुपर्दछ भन्ने उद्देश्यले राती सुत्ने बेलामा फोन गरेर परिवारलाई ‘आई लभ यु’ भन्नुपर्ने अभियान सञ्चालन गरिएको थियो । प्रहरी उपरीक्षक बोगटीले सेवा अवधिभर मात्र होइन निवृत्त भएपछि पनि प्रहरीको जीवन सुखद् हुनुपर्दछ भन्ने उद्देश्यले सीपमूलक तालिम प्रदान गराएका छन् । प्रहरीबाट निवृत्त हुन लागेको २० जना प्रहरीलाई विद्युतीय दुर्घटना निराकरण गर्न र सेवा अवकास पछि उद्यमी बनाउन ४५ दिने हाउस वायरिङ तालिम प्रदान गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले यो तालिमलाई अवकास कार्ययोजनाअन्तर्गत प्रदान गरेको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । उनी भन्छन्, ‘जनताको सेवामा खटिने प्रहरीलाई सेवा अवधिभर र अवकासपछि पनि सुखी जीवन जिउन सिकाउने अभ्यासको थालनी गरेका छौँ ।’ ‘सीप सिकौँ, आत्मनिर्भर बनौँ’ भन्ने नारासहित घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जाले आयोजना गरेको तालिममा अवकासको उत्तरार्धमा पुगेका २० जना र सेवा निवृत्त भएका दुई जना प्रहरी सहभागी छन् । यो तालिम सम्पन्न भए पश्चात २६ वटा प्रहरी युनिटमा प्रहरीले नै विद्युतीय समस्या निराकरण गर्ने जनशक्ती उत्पादन गर्ने जिप्रका स्याङ्जाको लक्ष्य छ ।

यो तालिम लिइसकेपछि वैदेशिक रोजगारी र अन्य पेसामा भौतारिनभन्दा आफ्नै सीपलाई उपयोग गर्न प्रहरीहरू उत्साहित भएका छन् । सेवाबाट अवकास हुन एक वर्ष बाँकी रहेका प्रहरी हवल्दार मनोजप्रसाद पाण्डे भन्छन्, ‘प्रहरी सेवाको रिटाएरपछि वित्तीय संघसंस्थामा सुरक्षा गार्डको जागिर खोज्दै हिँड्न त पर्दैन । सीप भएपछि आफ्नै कर्म गर्न त पाइन्छ’, उनी भन्छन्, ‘सेवा अवधिभर विद्युतीय दुर्घटनाबाट मानवीय क्षति रोक्न र सेवा पश्चात आफ्नै व्यवसाय सञ्चालन गर्न यो सीप काम लाग्नेछ ।’ स्याङ्जाका प्रहरीहरूलाई प्रदान गरिएको हाउस वायरिङ तालिमले उनीहरूलाई उद्यमी मात्र बनाउने छैन समाजमा हुने दुर्घटनासमेत निराकरण गर्नेछ । बहुउपयोगी सीप देशका सबै प्रहरी कार्यालयमा लागू हुनसके प्रहरीको निवृत्त पश्चातको जीवन पनि सुखद् हुने देखिन्छ । यो तालिम ३१ चैतसम्म सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

सुशील सुवेदी

स्याङ्जा

प्रतिक्रिया