रेशम चौधरीलाई पक्राउ गर्न ‘अनधिकृत’ पत्र लेख्ने महिमानसिंह विष्ट एक लाख धरौटीमा रिहा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न ‘अनधिकृत’ पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट एक लाख धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले आज सोमबार उनलाई एक लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

उनी गत वैशाख १७ गते पक्राउ परेका थिए । प्रहरीले उनीविरूद्ध झुटो सूचना दिएको र लिखतसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो । विष्टले आफूखुसी प्रहरीमा पत्राचार गरेको भेटिएपछि सर्वोच्च अदालत सुरक्षा एकाइले पक्राउ गरेर आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको थियो ।

त्यसअघि अदालतले उक्त पत्रमाथि आन्तरिक छानबिन गरेको थियो । अदालतले दिएको प्रतिवेदनका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । महिमानले लेखेको पत्रका आधारमा रेशम ५ घण्टा डिल्लीबजार कारागारमा थुनिएका थिए । त्यही दिन हुने भनिएको नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा कार्यक्रम पनि बिथोलिएको थियो ।

प्रतिक्रिया