फेवातालको क्षेत्रफल बढ्यो

लामो समयदेखि चर्चा र विवादको विषय बनेको फेवातालको क्षेत्रफल बढेको छ । उक्त बिषय हालै सार्वजनिक भएको हो । सरकारद्वारा गठित फेवातालको चारकिल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले तयार पारेको प्रतिवेदनलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको थियो । त्यसैको आधारमा मन्त्रिपरिषद््ले निर्णय गरेपछि फागुन १७ गते पहिलोपल्ट राजपत्रमा फेवातालको चारकिल्ला र सिमानासम्बन्धी विवरणसहित सूचना बाहिरिएको छ । फेवातालको क्षेत्रफल सार्वजनिक भएसँगै सामाजिक सञ्जाललगायत कतिपय सञ्चारमाध्यममा तालको क्षेत्रफल घटेको भन्दै विभिन्न टीकाटिप्पणीसमेत गरेका छन् । नेपाल राजपत्रको खण्ड ७० भाग ५ मा फेवातालको क्षेत्रफललाई ११ हजार २ सय ५५ रोपनी ११ आना १ पैसा (५ दशमलव ७२६ वर्गकिलोमिटर) कायम गरी सूचना प्रकाशित गरिएको छ ।

समितिका संयोजक पुण्यप्रसाद पौडेल फेवातालको क्षेत्रफल घटेको नभई कानुनी रूपमा बढेको बताए । फेवातालको क्षेत्रफलका विषयमा प्रतिवेदनको गहिरो अध्ययन गरे भ्रमबाट मुक्त हुने उनले बताए । ‘हामीले विभिन्न आधारमा रहेर तालको क्षेत्रफल निर्धारण गरेका छाँै, फेवा बाँधको ४ सय ९४ दशमलव ७० मिटरको उचाइबाट तालको क्षेत्रफल कायम हुने, वर्षायाममा पानीले ओगेटेको क्षेत्रफल, तालसम्बन्धी हालसम्म भएका अध्ययन प्रतिवेदनको विश्लेषण, स्थानीय ज्येष्ठ नागरिकको भनाइ, टोमोग्राफी सर्भे गरी माटो र लेदोले पुरेको तालको भाग खोजिएको छ । साथै, त्यहाँबाट बग्ने भकुण्डे भन्ने खोला जुन २०१० सालदेखि अविचलित र यथास्वरूपमा बगिरहेको विषयलाई पनि आधार मानिएको छ । यी विविध विषयलाई मानेर प्रमाणित गएिको छ ।’ उनका अनुसार यसअघि फिताले ननापेर कसैको सामान्य भनाइलाई मात्र उदृत गरिएकोले तालको वास्तविक क्षेत्रफल प्रमाणित नभएको हो ।

पौडेलले यसअघि मालपोतको स्रेस्तानुसार कित्ता नं २९७ कायम भई क्षेत्रफल ८ हजार ७ सय ७ रोपनी १२ आना २ पैसा २ दाम कानुनी क्षेत्रफल रहेकामा पछिल्लो प्रतिवेदनले कानुनी तबरबाट हेर्दा २ हजार ५ सय ४८ रोपनी क्षेत्रफल बढ्न गई हाल ११ हजार २ सय ५५ रोपनी ११ पैसा १ दाम भएको बताए । सुक्ष्म र वैज्ञानिक आधारबाट नापिएकाले यो नै फेवातालको वास्तविक र आधिकारिक क्षेत्रफल भएको उनले बताए । फेवातालको क्षेत्रफलका विषयमा हालसम्म भएका अध्ययन प्रतिवेदनमा उल्लिखित तथ्यांकमा ब्रिटिस सर्भे अफ इन्डियाले (सन् १९२५÷१९२६) ३ दशमलव ४६ वर्ग किलोमिटर, सर्भे अफ इन्डियाले (सन् १९५७÷१९५८) ४ दशमलव ३९ वर्ग किलोमिटर, नेपाल–भारत सहयोग मिसनको रिपोर्ट (विसं २०१८) १० दशमलव ३५ वर्ग किलोेमिटर, पहिलो किल्ला नापी (कित्ता न २९७) (विसं २०३२) ४ दशमलव ४३ वर्ग किलोमिटर, नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को अध्ययन प्रतिवेदन (विसं २०३८) ५ दशमलव ८० वर्गकिलोमिटर, आइयुसिएनको प्रतिवेदन (विसं २०५२) ४ दशमलव ४९ वर्ग किलोमिटर, जिल्ला विकास समिति कास्की (विसं २०५८) ४ दशमलव २५ वर्ग किलोमिटर, पोखरा उपत्यका नगर विकास समिति (विसं २०६४) ५ दशमलव शून्य ६ वर्ग किलोमिटर, विश्वप्रकाश लामिछानेको प्रतिवेदन (विसं २०६९) ६ दशमलव ५ वर्ग किलोमिटर, भूमिसुधार मन्त्रालय (विसं २०७२) ५ दशमलव शून्य ७ वर्ग वर्गकिलोमिटर, पोखरा महानगरपालिकाले (विसं २०७७) ५ दशमलव शून्य ८ वर्ग किलोमिटर र फेवातालको सीमांकन प्रतिवेदन तयार पार्न गठित समिति २०७७ मा ५ दशमलव ७२६ वर्ग किलोमिटर छन् ।

समितिका सदस्य–सचिव एवं कास्की नापी कार्यालयका प्रमुख खिमलाल गौतम पनि तालको क्षेत्रफल घटेको नभई कानुनी स्रेस्ताको आधार हेर्ने हो भने १ सय ३० हेक्टर (२ हजार ५ सय ४८ रोपनी) जति बढेको बताए । ‘आजसम्म फेवातालको सिमांकन र क्षेत्रफलको विषयमा दर्जन अध्ययन प्रतिवेदन सार्वजनिक भएका छन्, कतिपय स्थानमा केबल उल्लिखित मात्र भएका छन्, तर ती वैज्ञानिक थिए वा थिएन भन्नेतर्फ कसैले ध्यान दिएनन्,’ गौतमले भने, ‘हाम्रो ध्यान विशेष रूपमा नेपाल भारत सहयोग मिसनको प्रतिवेदनमा उल्लेख गरिएको चार वर्ग मिल (१० दशमलव ३५ वर्गकिमी) को आधार के हुन सक्छ भनेर खोज्नमा धेरै समय लगाइयो तर कुनै पनि तथ्य र त्यसबेला सन् १९५७÷५८ मा सर्भे अफ इण्डियाबाट प्रकाशित नक्सालाई जियोरिफ्रेन्सिङ गरी कम्प्युटर सफ्टवेयरको प्रयोग गरी क्षेत्रफल मापन गर्दा त ४ दशमलव ३९ वर्ग किमी मात्र देख्यौँ ।’ सो नक्सामा हेर्दा हालको फिस्टेल होटेलभन्दा तल त फेवा खोला पो थियो, तलपट्टि हाल जुन स्थानमा ताल छ त्यहाँ ताल नभएको उनले बताए ।
नापी कार्यालयका प्रमुख गौतमले कसले कति क्षेत्रफल लेख्योभन्दा पनि के आधारमा लेख्यो र के त्यो लेखेको कुरा नक्साले पुष्टि गरेको छ भनेर समितिले हेरेको बताए । उनले भने, ‘हामीले विविध पक्षलाई आधार मानेर वैज्ञानिक रूपमा सुक्ष्म अध्ययन गरेका छौँ । हामीले बहुआधारको विश्लेषण गरी त्यसबाट आएको अन्तरछेदन मानांकलाई सिमाना कायम गरेकाले यो अत्यन्तै वैज्ञानिक छ ।’

‘अब चारकिल्ला मात्र होइन, सबैको ध्यान फेवातालको पाँचौँ किल्लातर्फ जानुसमेत आवश्यक छ, पाँचौ किल्ला भनेको फेवातालको गहिराइ हो, हर्पनखोला लगायतका मुहानबाट आउने खोलाले ल्याउने माटो र लेदोले तालको गहिराइ बर्सेनि पुरिँदै गएको विभिन्न प्रतिवेदनले औंल्याइसकेका छन्,’ उनले भने । बेलैमा दीर्घकालीन संरक्षण र समुचित प्रयोग गर्न नसकेको खण्डमा हामीले भावी पुस्तालाई यो प्रकृतिको अनुपम नासो फेवाताल जिम्मा लगाउन नपाउन पनि सक्ने अवस्था रहेकोे गौतमले बताए । उनले सम्बन्धित निकाय सचेत र जिम्मेवार भएर सही समयमा सही निर्णय गर्न फेवातालको संरक्षण र विकासमा लाग्नु अपरिहार्य रहेको बताए ।

नेपाल राजपत्रमा नै पहिलोपटक फेवातालको चारकिल्लासम्बन्धी सूचना प्रकाशित भइसकेकाले अब महानगरलाई काम गर्ने वातावरण सहज भएको गौतमको भनाइ छ । उनका अनुसार फेवातालको चारकिल्ला निर्धारण सीमांकन तथा नक्सांकन समितिले फागुन १८ गते पोखरा महानगरपालिकालाई मापदण्ड कायम गरी फेवातालको दीर्घकालीन संरक्षणमा ध्यान दिन निर्देशनसमेत दिएको छ । अदालतको फैसलाको कार्यान्वयन पनि हुन जान्छ, फेवातालको संरक्षण पनि हुन जान्छ । समितिले सरकारबाट पारित भएको फेवातालको नक्सासमेत महानगरलाई उपलब्ध गराएको र सोही बमोजिम अघि बढ्न नीतिगत निर्देशन दिएको छ । ‘हामी कसले के भन्यो भन्नेतिर ध्यान दिएका छैनौं, हाम्रो ध्यान त सरकारले समितिलाई दिएको कार्यक्षेत्रगत शर्तानुसारको तोकिएको समयसीमाभित्र कार्यसम्पादन गर्न सकिन्छ या सकिन्न भन्नेमा रहेको छ’, समितिका सदस्य एवं मालपोत कार्यालय कास्कीका प्रमुख राजेन्द्र पौडेलले भने ।

प्रतिक्रिया