कलाकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण र रक्तदान

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले प्रतिष्ठानसँग आवद्ध विभिन्न कलाकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिदिने भएको छ ।

‘स्वस्थ जीवनको लागि स्वस्थ संगीत’ भन्ने मुल नाराकासाथ यही फागुन २९ गते प्रतिष्ठानको स्थापना दिवस तथा लोकदोहोरी दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले जानकारी दिए ।

उक्त स्वास्थ्य परीक्षण कार्यक्रम टोखा नगरपालिका– ७ धापासीस्थित प्रतिष्ठानकै केन्द्रिय कार्यालयको प्रंगाणमा आयोजना गरिएको उनले बताए । उनका अनुसार अनुभवी विशेषज्ञ तथा चिकित्सकहरुबाट कलाकारहरुका स्वास्थ्य परीक्षण गरिनेछ ।

सोही समारोहमा स्वास्थ्य परीक्षणसँगै रक्तदानको पनि कार्यक्रम राखिएको अध्यक्ष बिजीले जानकारी दिए । ‘रक्तदान जीवनदान’ भन्ने मान्यतामा आधारित रहेर कार्यक्रमको आयोजना गरिएको उनको भनाइ छ ।

बिहान ९ देखि दिउँसो ३ बजेसम्म कार्यक्रम हुने भएकाले सम्पूर्ण कलाकारहरुलाई समयमै उपस्थित भएर मौकाको फाइदा लिन अध्यक्ष बिजीले आग्रह गरेका छन् ।

प्रतिक्रिया