नेपाल अफ्रिका फिल्म फेस्टिभल

काठमाडौं । कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनको आयोजनामा नवौं संस्करणको ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२१’ (नाफ २०२१) का लागि नेपाली तथा अफ्रिकन चलचित्र छानिएको छ । कोरोना संक्रमणका कारण यस वर्ष केही ढिला महोत्सव आयोजना हुन लागेको महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रले बताइन् । उनले महोत्सव नयाँ वर्षको अवसर पारेर बैशाख १० देखि १२ गतेसम्म जमलस्थित नाचघरमा आयोजना गरिने जानकारी दिइन् । डा. मिश्रले नेपाल र अफ्रिकी महादीपलाई चलचित्रको माध्यमबाट सांस्कृतिक रुपमा जोड्न र आपसी सांस्कृतिक आदनप्रदानका लागि विगत नौ वर्षबाट यो महोत्सव आयोजना गर्दै आएको बताइन् । उनले भनिन्, ‘गत डिसेम्बरमा हुनुपर्ने महोत्सव कोभिड–१९ का कारण बैशाखमा आयोजना गर्न लागिएको हो ।’

उनका अनुसार नेपाल र अफ्रिकाका विभिन्न मुलुकबाट प्राप्त भएका करिब ७० वटा चलचित्रमध्येबाट महोत्सवको चलचित्र निर्णायक समूहले जम्मा १८ वटा लामा छोटा चलचित्र छानेको छ । डा. मिश्रले भनिन्, ‘फेस्टिभलमा चलचित्र, लघुचलचित्र र वृत्तचित्र देखाइने छ ।’ फेस्टिभलका निर्देशक डब्बु क्षत्रीका अनुसार महोत्सवमा नेपालबाट ७ वटा चलचित्र चयन भएका छन् । जसमा एउटा वृत्तचित्र र बाँकी लघुचलचित्र छन् ।

नेपालबाट छानिएका चलचित्रमा निर्देशक गणेश पाण्डेको ‘को हज्बेन्ड’, निर्देशक हिमाल उप्रेतीको आमा, निर्देशक माधवराज खरेलको दुर्गामान्डु, गणेशजंग रावलको सम्साया, सजल लोप्चनको गाइड, पुरुषोत्तम बस्नेतको सुरक्षा, निपिल शर्माको द फाइनल फेयर वेल र युनिषराज उप्रेतीको बाटोमा रहेका छन् । महोत्सवका बाँकी चलचित्र अफ्रिकी मुलुकबाट चयन भएका हुन् । जसमा जिम्वावेबाट गुड म्यान, थन्डिज् डायरी, इजिप्टबाट बबल्स्, ड्राइ हट समर, एक्जिट र द स्पारो किड्स रहेका छन् । यस्तै निमिभिया÷ब्राजिलबाट बडी गेम्स, स्विट्जरल्यान्ड र रुवान्डाबाट इम्फुरा, तान्जानियाँ÷चीनबाट तजारा र सेनेगलबाट गोल्डेन फिस चयन भएका छन् । तीनदिने महोत्सवमा चलचित्र प्रदर्शन, अफ्रिकी खाना महोत्सव, अफ्रिकी पहिरन प्रदर्शन, नेपाली र अफ्रिकी सांस्कृतिक झाँकीका साथै नेपाली र अफ्रिकी चलचित्रबारे एक दिवसीय कार्यशाला पनि आयोजना गरिने महोत्सव निर्देशक डब्बु क्षत्रीले जानकारी दिए ।

प्रतिक्रिया