लहान । पुस्तौँदेखि भोगचलन गर्दै आएको जमिनको लालपुर्जा पाएपछि सिरहाको गोलबजार नगरपालिका–१२ बेतौना स्थानीयवासी खुसी भएका छन् । भोगचलनमा रहेको गाउँब्लक जमिनको नापी कार्यालयले गाउँमै पुगेर लालपुर्जा बाँडेपछि स्थानीयवासी खुसी भएका हुन् । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले स्थानीयवासीलाई लालपुर्जा हस्तान्तरण गर्दै नापीका कर्मचारीले लामो समयको नापजाँचपश्चात तयार पारेको पूर्जा स्थानीयवासीलाई वितरण गर्न पाउँदा खुसी लागेको बताए ।
वर्षौंदेखि बस्दै आएको जमिनको धनीपुर्जा पाएपछि आफूलाई औधी खुसी लागेको स्थानीयवासी साहिद हुसैनको भनाइ छ । ‘बस्दै आएको गाउँब्लक जग्गामा ठूलो रकम खर्च गरेर घर निर्माण गरेको छु’, उनले भने, ‘त्यो जग्गाको अहिले मालिक बन्न पाउँदा असाध्यै खुसी छु ।’ वडाका ३ सय ७० घरधुरीलाई जग्गाधनी प्रमाण पुर्जा प्रदान गरिने वडाध्यक्ष गणेश मुखियाले जानकारी दिए । अझै केही विवादित अवस्थाका जमिनको लागि पनि पहल भइरहेको उनले बताए । नापी कार्यालयका प्रमुख सुभानन्द चौधरीले ६० दिनसम्म उजुरबाजुर दिन सक्ने समय रहेकाले पुर्जामा कुनै समस्या देखापरेमा नापी कार्यालयमा सम्र्पक गरी आफ्नो काम सहजपूर्वक गराउन सबैसँग आग्रह गरे । प्राप्त गरेको ६० दिनपछि मात्र यो प्रमाण पुर्जा अन्य प्रयोजनमा प्रयोग गर्न सकिने उनले जानकारी दिए ।
प्रतिक्रिया