‘बि’ डिभिजन लिग : खुमलटारको जित, नयाँबस्ती र टुसालको बराबरी

काठमाडौं । कप्तान सविन केसीको दुई गोल सहयोगमा उपाधि होडमा रहेका खुमलटार युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा डिभाइन ब्वाइज युनियन क्लबलाई पराजित गरेको छ । सातदाबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा खुमलटारले ब्वाइज युनियनलाई ३–० ले पराजित गरेको हो । थप एक गोल आयुष घलानको नाममा रह्यो । खेलको नवौं मिनेटमा कप्तान सविन केसीले वान भर्सेस वानको अवस्थामा प्रहार गर्न ढिला गर्दा खुमलटार अग्रता लिनबाट चुक्यो । १९औं मिनेटमा कप्तान सविन केसीले गोल गर्दै खुमलटारलाई १–० को अग्रता दिलाए । प्रशान्त अवस्थीले दुई डिफेन्डरलाई बिट गर्दै दिएको क्रसलाई सविनले उत्कृष्ट फिनिस गरेका थिए ।

४३औं मिनेटमा सविन केसीले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारको अग्रता दोब्बर पारे । उनले अनिल खड्काको पासमा गोल चलाखीपुर्ण पासमा अफसाइड बिट ट्रयाप गर्दै सहज गोल गरेका थिए । ७४औं मिनेटमा आयुष घलानले गोल गर्दै खुमलटारलाई ३–० को सहज जित दिलाए । उनले अनिल खड्काको पासमा गोल गरेका थिए । जितपछि खुमलटारले शीर्षस्थानको सातदोबाटो युथ क्लबसँग अंक बराबरी गर्दै उपाधि सम्भावनालाई जीवितै राखेको छ । खुमलटारको ९ खेलबाट २२ अंक छ । एक खेल कम खेलेको सातदोबाटोको २२ अंक रहेपनि हेड टु हेडमा अघि छ । पराजित ब्वाइज युनियन ९ खेलबाट १४ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ ।
लिगमा बिहीबार दुई खेल हुनेछ । पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती टोखा तथा दोस्रो खेलमा रानी पोखरी कर्नर टिम (आरसीटी) र श्री कुमारी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै अर्को खेलमा नयाँवस्ती युवा क्लब र टुसाल युथ क्लबले खेलेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा नयाँवस्ती र टुसालले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । प्रतिस्पर्धात्मक खेलको ३९औं मिनेटमा विवेक गुरुङको गोलबाट नयाँवस्तीले खेलमा अग्रता लिएको थियो । ७१औं मिनेटमा टुसालका एलोन राईले गोल गर्दै खेललाई १–१ बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो । बराबरीपछि नयाँवस्ती ९ खेलबाट १२ अंक जोडेर छैटौ स्थानमा तथा टुसाल ९ अंक जोडेर सातौ स्थानमा रहेको छ ।

प्रतिक्रिया