कार्यशाला सम्पन्न

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभागको आयोजनामा ‘मुहारचित्र कार्यशाला, प्रदर्शनी तथा गोष्ठी’ को सम्पन्न भएको छ । नेपालका चर्चित कलाकार, व्यवसायिक तथा सामाजिक व्यक्तित्वको जीवन्त मुहारचित्र बनाइएको उक्त कार्यशालामा तयार पारिएका चित्रको प्रदर्शनीसमेत गरियो । प्रदर्शनीको शुभारम्भ गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धरले मुहारचित्रको नेपालमा मात्रै नभएर विश्वमै विशिष्ट महत्व रहेको बताए । उनले मुहारचित्र बनाउने काम निकै कठिन भए पनि कलाकारले यसलाई सहजै लिएर आफ्नो सीप र क्षमता प्रस्तुत गर्दै आएको भनाइ राखे । मानन्धरले भने, ‘मुहारचित्रमा काम गर्ने कलाकार नेपालमा निकै कम छन् । नेपालमा ६०–६२ वर्षको इतिहासमा धेरै कम मुहारचित्र बनाएको देखिन्छ । यसलाई अभियानकै रुपमा अगाडि बढाउन कलाकारले काम गर्नुपर्ने देखिन्छ ।’


समाजका विशिष्ट व्यक्तित्वमार्फत कलालाई आममानिससम्म पु¥याउन कार्यशाला तथा प्रदर्शनी सफल भएको प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले बताए । उनले भने, ‘समाजका विशिष्ट व्यक्तित्वको मुकारचित्र बनाउने क्रममा प्रतिष्ठानको माहोल नै निकै कलात्मक बन्न पुग्यो । यसले आमकलाकार तथा मानिसमा कलाप्रतिको रुचि र जागरणलाई उजागर गर्न मद्दत मिलेको अनुभूति हामीले गरेका छौं ।’ एक हप्तासम्म चलेको उक्त कार्यशालामा कलाकारले नेपालका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको मुहारचित्र बनाएको प्राज्ञ सुषमा राजभण्डारीले जानकारी दिइन् । उनले भनिन्, ‘कलालाई समाजसँग जोड्दै यसको महत्वलाई उजागर गर्ने उद्देश्यका साथ कार्यशाला गरिएको हो । समाजमा विशिष्ट योगदान दिनुभएका व्यक्तित्वमार्फत कलाप्रति आममानिसको सकारात्मक धारणा निर्माणमा यो कार्यशाला, गोष्ठी तथा प्रदर्शनीले सहयोग पुग्ने विश्वास लिएका छौं ।’ प्राज्ञ राजभण्डारीले ख्यातिप्राप्त कलाकारलाई बोलाउनु भनेकै निकै गाह्रो काम भएको बताउँदै भनिन्, ‘मोडेलका रुपमा आएर समाजका विशिष्ट व्यक्तित्वले समय दिनुभयो । जसले नेपाली कलाक्षेत्रलाई आममानिससँगै यसको महत्व र गरिमालाई बुझ्न र बुझाउन सहयोग पुगेको छ ।’ प्राज्ञ रमेश खनालले नेपालमा मुहारचित्रको विकास र प्रवद्र्धनमा प्रतिष्ठानले आगामी दिनमा विभिन्न कार्यक्रम ल्याउनुपर्ने आवश्यकता बढेर गएको बताए । उनले भने, ‘यसलाई अभियानकै रुपमा अगाडि बढाउँदै देशव्यापी बनाउनु पर्दछ ।’


एक हप्तासम्म चलेको कार्यशालामा अतिथि कलाकारका रुपमा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार, प्राज्ञ बुद्घि गुरुङ, आलोक गुरुङ, बाबुराजा द्यःला, सृजन राजभण्डारी, डि. राम पाल्पाली, अशुराम खाइजु, रोशन प्रधान, कृष्णगोपाल श्रेष्ठ, पकबहादुर थापा र कृष्णप्रकाश शाह, किशोर नकर्मी, प्रदीप श्रेष्ठ, पूजा मर्हजन र कान्छाकाजी भासिमाले विभिन्न व्यक्तित्वका मुहारचित्र बनाएका थिए । मुहारचित्रमा अम्बिका श्रेष्ठ द्वारिका होटल अध्यक्ष, कलाकार तथा साहित्यकार भद्रकुमारी घले, माइती नेपालको संस्थापक तथा समाजसेवी अनुराधा कोइराला, नेपाल इन्भेस्मेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे, एनविआइका महासचिव सुरेन्द्रवीर मालाकार, पञ्चकन्या ग्रुपका अध्यक्ष प्रदीपकुमार श्रेष्ठ, हाँस्यकलाकार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, अभिनेत्री मनिषा कोइराला, समाजसेवी तथा गायिका आनी छोइङ डोल्मा र सुरसुधा ब्यान्डका संस्थापक सुरेन्द्र श्रेष्ठको मुहारचित्र कलाकारले क्यान्भासमा उतारेका थिए ।


सो अवसरमा ‘मुहारचित्रको इतिहास र वर्तमान’ विषयमा केशवराज खनालले कार्यपत्र प्रस्तुत गरे । उनले मुहारचित्रको ऐतिहासिक पक्षलाई केलाउँदै नेपालमा यसको विकास र विस्तारका विषयमा चर्चा गरे । उनले नेपालमा पश्चिमा शैलीमा मुहारचित्र बनाउने परम्परा सुगौली सन्धिपछि भएको बताए । त्यसयता यसमा सयौं कलाकारले काम गरेको जनाउँदै खनालले भने, ‘मुहारचित्र जटिल चित्रकार्य हो । यसलाई आममानिससम्म पु¥याउन अभियानकै रुपमा काम गर्नुपर्दछ ।’ उक्त कार्यपत्रमाथि कलासमीक्षक एवं लेखक देवेन्द्र थुम्केलीले टिप्पणी गरेका थिए । त्यस्तै, कार्यपत्रमाथि पूर्वकुलपति किरण मानन्धर, अग्रज कलाकार विजय थापा, प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार, प्राज्ञ रमेश खनाल, बुद्घि गुरुङ र प्राज्ञ गजेन्द्रमान श्रेष्ठले आवश्यक सुझाव दिएका थिए । मुहारचित्र परम्परागतलाई जीवन्त बनाउन कलाकारले नियमितरुपमा कार्यशाला, गोष्ठी तथा प्रदर्शनी गर्नुपर्ने धारणा सहभागी कलाकार अशुराम खाइजुले राखे । उनले सात दिनसम्म चलेको कार्यशालाले कलाकारलाई ऊर्जा भर्न सहयोग पु¥याएको धारणा व्यक्त गरे ।

प्रतिक्रिया