अरनिको राजमार्गमा मोड–सुधार हुँदै

काभ्रे । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा मोड–सुधार गरिरहेको छ । राजमार्ग दायाँबायाँका विभिन्न स्थानमा समेत सर्भिस ट्र्याक खोल्न प्रक्रिया थालिएको छ । हाल धुलिखेलदेखि पाँचखालसम्म १५ किलोमिटर सडकखण्डको १३ स्थानमा मोड–सुधारको काम भइरहेको कार्यालयप्रमुख डिभिजन इन्जिनियर सुमन योगेशले जानकारी दिए । उनले १ करोड ६० लाख बजेटमा उक्त सडकखण्डमा मोड–सुधार तथा धुलिखेलदेखि केही तल पहिरो नियन्त्रणको काम भइरहेको बताए । ‘धुलिखेल–पाँचखाल सडकखण्डमा ‘साइड डिस्ट्यान्स्’ सहित मोड–सुधार भइरहेको छ, यसले दुर्घटना न्यूनीकरणमा मद्दत गर्नेछ’, योगेशले भने ।

उनका अनुसार बनेपा सहरस्थित अरनिको राजमार्ग दायाँबायाँ करिब डेढ किलोमिटर सर्भिस ट्र्याक (रिसिलिङ कालोपत्र)को प्रक्रिया अघि बढाइएको छ । सो योजनाका लागि रु छ करोड बजेट छुट्याइएको छ । काभे्रपलाञ्चोक र भक्तपुरको सीमा क्षेत्र साँगादेखि धुलिखेलसम्म १० किलोमिटर अरनिको राजमार्गको दायाँबायाँ सर्भिस ट्र्याक निर्माणका प्रक्रिया थालिएको कार्यालयका इन्जिनियर जयराम अधिकारीले जानकारी दिए । उनका अनुसार पाँचखाल बजारमा पाँच सय मिटर पक्कीसहित सर्भिस ट्र्याक खोल्ने काम भइरहेको छ ।

हाल कार्यालयले डेढ करोड बजेटमा धुलिखेल बजारको मुख्य चोक सडक सुधार गर्दै पुरानो बजारमा फुटपाथ निर्माण थालेको छ । जीर्ण बनेपा–पनौती ६ किलोमिटर पक्की गर्न संघीय सरकारले हालै मात्रै १६ करोड ७५ लाख बजेट थपेपछि कालोपत्रको काम सुरु भएको छ । पनौती नगरस्थित खोपासीदेखि बेथानचोक गाउँपालिकाको कामीडाँडासम्म करिब ३० किलोमिटर कच्ची सडकको स्तरोन्नति गरिरहेको छ । संघीय सरकारको पछिल्लो १५ करोड बजेटले हाल ड्रेन–रिटेनिङ वाल, कज–वे, ढलनिकास तथा ग्राभेलको काम भइरहेको कार्यालयले जनाएको छ । पनौती नगरले एक करोड थपको सो सडकखण्डको हाल ४ हजार ५ सय मिटर ग्राभेल भएको छ ।

संघीय बजेटबाटै हाल नगरकोट–गैरिबिसौना–हिउँवापाटी १० किलोमिटर र बनेपा–रविओपी–पाँचखाल १६ किलोमिटर कच्ची सडक स्तरोन्नतिको काम भइरहेको योगेशले जानकारी दिए । उनका अनुसार बनेपा–रविओपी–पाँचखालअन्तर्गत ६ किलोमिटर पक्की भइसकेको छ । योगेशले भने, ‘केही क्रमागत बजेटले स्तरोन्नति गर्दै ग्राभेल तथा ग्राभेलपछि पक्की गर्दै जानेछौँ ।’ उनका अनुसार बजेटको निरन्तरताले कुनै पनि योजना रोक्नुपरेको छैन । पाँचखालमा पनि तीन किमी वैकल्पिक सडक पक्की भइरहेको छ । स्तरोन्नति प्रस्तावित सडक एवं सम्पदा निर्माणार्थ बोलपत्र आह्वान भइसकेको योगेशले बताए । संघीय सरकारमार्फत हाल अरनिको राजमार्ग स्तरोन्नतिका लागि ७ करोड ४० लाख, कोसीपूर्वस्थित सडक कालोपत्र गर्न ३३ करोड बजेट छुट्याइएको छ ।

प्रतिक्रिया