दर्जनलाई नातिकाजी सम्मान र पुरस्कार

काठमाडौं । संगीत महर्षीका रुपमा नेपाली सांगीतिक फाँटमा परिचित स्व. नातिकाजी श्रेष्ठको ९४औँ स्मृति दिवसको अवसर पारेर एक दर्जन बढीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा नातिकाजी स्मृति समाजले ‘नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुुरस्कार २०७६’ आयोजना गर्दै उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा संगीतकर्मी र पत्रकारलाई राष्ट्रपति विद्यादेवी भण्डारी, सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले सम्मानपत्र, नगद र खादासहित दोसल्ला ओढाएर सम्मान प्रदान गरेका थिए ।

समारोहमा ‘नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान २०७६’ बाट गीतकार बालकृष्ण सजीव, सुरेन्द्र राना र चुडामणि देवकोटा, संगीतकार राजु सिह, सुनिल मास्के, मदनसिंह नेपाली, मनोहर सुनाम, शान्तिराम राई, महेश खड्का र नारायण रायमाझी तथा वाद्यवादक राजु अग्रवाल सम्मानित भए । त्यस्तै, सञ्चारकर्मी विदुर गिरी र स्याम स्मृतलाई ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार २०७६’ तथा सुगम पोखरेल, चेतन सापकोटा, प्राश्ना शाक्य र गीतकार दयाराम पाण्डे ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार २०७६’ प्रदान गरियो । कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार २०७६’ बाट भने गायक सुरजकुमार थापा, गीतकार हर्क साउद र गायिका मेलीना राई पुरस्कृत भए ।

त्यसैगरी ‘नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा वाद्य पुरस्कार २०७६’ वाद्यवादक जीवित जल्मी, ‘नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार २०७६’ शास्त्रीय संगीतकार विकास नाथ योगी, ‘नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार २०७६’, लोकगायक बद्री पंगेनी, ‘राष्ट्रिय सम्मान २०७६’ बाट समाजसेवी नवराज केसीलाई प्रदान गरियो । बालगायिका जारा रीत प्रसाईंलाई प्रशंसापत्र प्राप्त गरेकी हुन ।  कार्यक्रममा राष्ट्रपति भण्डारीले सम्मानित तथा पुरस्कृत स्रष्टालाई बधाई दिँदै नातिकाजी नेपाली संगीत आकाशका उज्वल नक्षत्रको भएको बताइन् । उक्त समारोह संगीतकार तथा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजित बास्कोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न गायक गायिकाले नातिकाजीद्वारा संगीतबद्व गीत गाएर पनि सुनाएका थिए ।

प्रतिक्रिया