राष्ट्र बैंकको डेपुटी गभर्नर पद रिक्त

काठमाडौ । नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर पद रिक्त भएका छन् । डेपुटी गभर्नरद्वय चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको पाँचवर्षे कार्यकाल मंगलबारबाट सकिएसँगै दुई पद रिक्त भएका हुन् । १९ फागुन २०७२ मा तत्कालीन एमालेको कोटाबाट सिवाकोटी र कांग्रेस कोटाबाट श्रेष्ठ डेपुटी गभर्नरमा नियुक्त भएका थिए । अघिल्लो पटक ढिला गरी नियुक्ति गरिए पनि अहिले भने राजनीतिक उतारचढावका कारण यही साता नै नियुक्ति हुन सक्ने आकलन गरिएको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १६ अनुसार राष्ट्र बैंकका गभर्नरको सिफारिसमा डेपुटी गभर्नर मन्त्रिपरिषद् बैठकले नियुक्ति गर्नुपर्ने व्यवस्था रहेको छ ।

गभर्नरले सिफारिस गर्दा बैंकका कार्यकारी निर्देशक मध्ये आवश्यक परेको दोब्बर संख्यामा सिफारिस गर्नुपर्ने व्यवस्था छ । यस आधारमा राष्ट्र बैंकका गभर्नरले कम्तीमा चार जनाको नाम सिफारिस गर्नुपर्ने देखिन्छ । राष्ट्र बैंकमा अहिले १७ जना कार्यकारी निर्देशक छन् । १७ मध्येबाट कम्तीमा चार जनाको नाम गभर्नरले सिफारिस गर्नुपर्ने हुन्छ । सामान्यतः डेपुटी गभर्नर सत्ता पक्ष र प्रतिपक्ष दलले भागवण्डाका आधारमा नियुक्ति गरिने यो भन्दा अघिको नजिर रहेको छ ।

तत्कालीन गभर्नर डा. युवराज खतिवडाको सिफारिसमा अधिकारी तत्कालीन एमाले र काफ्ले कांग्रेसको कोटाबाट डेपुटी गभर्नरमा नियुक्त भएका थिए । निवर्तमान गभर्नर चिरञ्जीवी नेपालको सिफारिसमा नियुक्त भएका डेपुटी गभर्नरमध्ये श्रेष्ठ कांग्रेस र सिवाकोटी एमालेको कोटाबाट परेका थिए । अहिले पनि कांग्रेस र नेकपा कोटाबाट नै नियुक्ति गरिने सम्भावना रहेको स्रोतले बताएको छ ।

राष्ट्र बैंक स्रोतका अनुसार अहिले राष्ट्र बैंकका आठ जना कार्यकारी निर्देशक डेपुटी गभर्नर बन्न दौडधुपमा लागेका छन् । राष्ट्र बैंकका अधिकारीका अनुसार डेपुटी गभर्नरका प्रमुख दाबेदारमध्ये अर्थ मन्त्रालयका सल्लाहरका रूपमा रहेका देखी अन्य ७ जना रहेका छन ।

प्रतिक्रिया