प्रधानमन्त्री ओलीद्वारा सन्थाल एकीकृत बस्तीको शिलान्यास

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मोरङको उर्लाबारीमा निर्माण हुन लागेको सन्थाल एकीकृत बस्तीको शिलान्यास गरेका छन् ।

शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन एकाइ मोरङमार्फत रु ३० करोडको लागतमा बन्ने सो बस्तीमा १३२ घर हुनेछन् । भूमि तथा घरबारविहीन अतिविपन्न सन्थाल र उराँव समुदायलाई बसोबास दिन उक्त परियोजना सुरु गरिएको हो ।

उर्लाबारी–९ स्थित रातोहोली खोल्सी किनारको जग्गालाई नगरबाट सन्थाल एकीकृत बस्ती विकास गर्ने निर्णयअनुसार परियोजना सुरु गरिएको नगरप्रमुख खडक फागोले बताए । उनका अनुसार ३१ हजार ७६८ वर्गमिटर जग्गामा निर्माण हुने बस्तीमा १०६ सन्थाल र २६ उराँव समुदायलाई घर दिइने छ ।

बस्तीमा एक परिवार बसोबासको लागि चाहिने न्यूनतम २०० कोठा, एक भान्साघर, एक शौचालयसहित सडक, खानेपानी, मनोरञ्जनस्थल, खोल्सी संरक्षण, बाल विकास केन्द्र, सामुदायिक भवनलगायतका संरचना निर्माण हुने छन् ।

प्रतिक्रिया