खेल-खेलाडी

बुद्ध क्रिकेट क्लब सेमिफाइनलमा

सौर्य अनलाइन २०७७ फागुन १८ गते ८:३२ मा प्रकाशित

बुटवल । बुद्ध क्रिकेट क्लब भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सिद्धार्थ रंगशालामा सोमबार भएको डिभिजन ‘ए’को खेलमा बुटवल–११ लाई ७ रनले पराजित गर्दै बुद्ध क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

टस जितेर ब्याटिङमा गरेको बुद्धले निर्धारित ५० ओभरमा ४७.२ ओभर खेल्दै सबै विकेट गुमाएर १९९ रनको योगफल बनायो । उसका लागि रिजन प्रजुले ३५, निखिलेश यादवले २९, अमित अग्रहरीले २४ र निखिल यादवले १५ रन बनाए । बलिङमा बुटवल–११ का सुधन श्रेष्ठ र प्रकाश केसीले ३–३, इशान पाण्डेले २ तथा एजाज आलम र तौसिफ आलमले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बुटवल–११ ले ४४.२ ओभरमा सबै विकेट गुमाउँदै १९२ रन बनायो । उसका लागि सोनु तामाङले ४८, हिमाल पुनले ४३, इशान पाण्डेले २५ र तौसिफ आलमले २१ रन बनाए । बलिङमा बुद्धका अमित अग्रहरीले ३, रुपेश कुर्मी र अजय त्रिपाठीले २–२ तथा विपिन खत्री र रिजन प्रजुले समान १–१ विकेट लिए । अमित अग्रहरी म्यान अफ द म्याच भए । मंगलबार डिभिजन ‘ए’ का एक्सपर्ट जीआर क्रिकेट क्लब र देवदह क्रिकेट युनिटबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले जानकारी दिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय