संयोगले जोगिएको मातृशिशु

‘ढुंगा खोज्दा देवता मिल्यो’ भने झैँ खत्याड गाउँपालिका–१० मुगु निवासी २९ वर्षीया निर्मला चँदाराको जीवनमा एउटा त्यही संयोग जु¥यो । प्रसव सुत्केरी व्यथाले च्यापेपछि तीन दिनअघि हवाइजहाजबाट नेपालगञ्ज जान उनलाई बाजुराको कोल्टी विमानस्थल पु¥याइयो । खत्याडबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुग्न सडक यातायातको सुविधा नभएकाले उनलाई कोल्टी पु¥याउनुको विकल्प थिएन । नेपालगञ्ज उड्नका लागि विमानस्थलमा पु¥याएकी उनलाई हवाइजहाज चढ्न त्यहाँका कर्मचारीले चिकित्सकको सिफारिस अनिवार्य चाहिने कुरा गरे । च्यापिरहेको पीडा सहन गर्दै कोल्टी विमानस्थल नजिक रहेको बुढीनन्दा नगरपालिकाको प्राथमिक उपचार केन्द्र पु¥याइयो र त्यहाँको चिकित्सकसँग नेपालगञ्ज जानका लागि सिफारिस दिन अनुरोध गरियो ।

संयोगवशः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एनेस्थेसिया विशेषज्ञ डा. अर्जुनप्रसाद तिवारीको नेतृत्वमा बालरोग विशेषज्ञ डा. नम्रता सिन्दान र स्त्रीरोग विशेष अनुभव प्राप्त डा. दिलसाही रोकाको टोली केन्द्रमै पुगेको थियो । सिफारिस लिन आएकी चँदारालाई देख्नेबित्तिकै चिकित्सक टोलीले परिचयसहित उनको समस्याबारे जानकारी लिए । चिकित्सक टोलीले सिफारिस लिन आएकी चँदाराको प्रारम्भिक अवस्था बुझ्नाका साथै केही बेरसम्मको संवादपछि त्यही प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन सकिने बताए । सिफारिस लिएर जतिसक्दो छिटो नेपालगञ्जको फ्लाइट भेटाउने सोचमा रहेकी उनलाई भने केही शंका र अलि अप्ठ्यारो लागिरहेको थियो । उनलाई विश्वस्त बनाउन चिकित्सक टोली सफल भयो । ‘केन्द्रमा उनको त्यतिबेला नै जाँचपड्ताल ग¥यौँ । बच्चा (ट्रान्सभर्सलाई) उल्टो अवस्थामा रहेछ,’ डा. तिवारीले भने, ‘आमा र बच्चा दुबैको ज्यान खतरामा भएकाले चँदारा र उनका आफन्तलाई राजी बनाएर तत्काल हामी शल्यक्रिया गर्ने निधोमा पुग्यौँ । साधनस्रोतको अभावमा उपचार केन्द्रमा शल्यक्रिया गर्न भने निकै चुनौतीपूर्ण थियो ।’

उनले भने, ‘स्थानीय साधनस्रोत र केही आफूले बोकेको उपकरणको सहयोगबाट सिजेरियन सेक्सन (सिएस) ग¥यौँ । शल्यक्रिया सफल भयो । सुत्केरी गराउँदा (बर्थ एस्फाजिया) अर्थात् बच्चाले आफ्नो दिसा आफैँले खाएको थियो । त्यसको सबै व्यवस्थापन गरियो ।’ अहिले भने बच्चा र आमाको अवस्था सामान्य रहेको एनेस्थेसिया डा. तिवारीले बताइन् । उनका अनुसार प्रतिष्ठान जुम्लाको डा. टोलीका सदस्यका साथै बुढीनन्दा नगरपालिकाको प्राथमिक उपचार केन्द्रमा कार्यरत स्टाफ नर्स मुना देवकोटा, अनमी त्रय चन्दाकुमारी दानी, दाना जोशी र मनिषा रसाइलीसहितका स्वास्थ्यकर्मीको अथक प्रयासबाट आमा र बच्चा दुवैको ज्यान जोगाउन सकिएको हो ।
बुढीनन्दा नगरपालिका कोल्टी बाजुराको प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. राजुराज जैसीले कोल्टीमा गरिएको शल्यक्रिया शाखामा पहिलोपटक शल्यक्रिया भएको जानकारी दिए । ‘यसअघिका सबै जटिल खालका बिरामी हामीले नेपालगञ्ज नै सिफारिस गर्ने गथ्र्यौं,’ मेडिकल अधिकृत डा. जैसीले भने, ‘यतिबेला प्रतिष्ठान जुम्लाको चिकित्सक टोलीले ठूलो सहयोग गरेको छ ।’
उक्त सफलतामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको ठूलो हात रहेको बताउँदै उनले यो संयोगले मातृशिशुको ज्यान मात्र नभएर लाखौँको खर्च पनि जोगिएको बताए । उनले भने, ‘यसअघि हामीले जटिल खालका बिरामीको उपचारका हेलिकोप्टर मगाउने र हवाइजहाजमा पठाउने गथ्र्यौं । भाग्यवशः यतिबेला निर्मलालाई ठूलो राहत मिलेको छ ।’ केन्द्रमै कार्यरत आफ्नै चार जना गर्भवती कर्मचारीलाई समेत नेपालगञ्ज पठाएको मेडिकल अधिकृत जैसीले सबै खाले स्वास्थ्य उपचार सेवा अभावले विकट क्षेत्रका नागरिकलाई महँगो खर्चले गरिबीतर्फ धकेल्न बाध्य बनाएको बताए ।
समयमा नै सुत्केरी गराउन सक्दा लाखौँ खर्च हुनबाट बचेको उनले बताए । उनका अनुसार कोल्टी प्राथमिक उपचार केन्द्र पछिल्लो समयमा हुम्लाको ताजाकोट, सर्केगाड, अदानचुली गाउँपालिका, मुगुको सोरु, खत्याड गाउँपालिका र कालीकोटको पलाँता गाउँपालिका र रासकोट नगरपालिकाको रिफरल सेन्टरका रूपमा विकास हुँदै गएको छ । मुगुवासी चँदाराको यो सफल शल्यक्रियाले सर्वत्र राम्रो सन्देश फिजाएको उनले बताए । बुढीनन्दा नगरपालिकाका नगरप्रमुख पदमकुमार गिरीले प्राथमिक उपचार केन्द्रमा गरिएको सफल शल्यक्रिया बाजुरेली इतिहासमा पहिलो र उपलब्धिमूलक घटना भएको जानकारी दिए ।
नगरप्रमुख गिरीले भने, ‘मानव जीवनका लागि स्वस्थ जीवन पहिलो कुरा हो र जसको व्यवस्थापन राज्यले गर्नु पर्दछ । नेपालको संविधानले यसलाई मौलिक हकका रुपमा व्यवस्था गरेको छ ।’ लाखौँ खर्च गरेर जोखिमपूर्ण जीवनलाई बचाउन गर्नुपर्ने कष्टकर बाध्यता र त्यसले सिर्जना गर्ने गरिबीबाट मुक्त गराउने प्रतिष्ठानको चिकित्सक टोलीलाई उनले धन्यवाद दिए । संविधानले दिएको अधिकार नागरिकले प्रयोग गर्न पाउन् भनेर हुम्ला, मुगु, कालीकोट र बाजुराको मुख्य विन्दु मानिने कोल्टीमा जग्गा किनेर १० शय्याको अस्पताल निर्माणका लागि तयारी भइरहेको नगरप्रमुख गिरीले बताए ।
नियमितरुपमा विशेषज्ञ सेवा प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध गर्ने गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र बुढीनन्दा नगरपालिका कोल्टी बाजुराबीच सम्झौता भएको नगरपालिकाका जनस्वास्थ्य अधिकृत ओमजंग शाहीले जानकारी दिए । प्रतिष्ठानको विस्तारित गुणस्तरीय स्वास्थ्य उपचार सेवाले पछिल्लो समय उपचार केन्द्रमा सयौँको संख्यामा बिरामीको चाप बढ्दै गएको निरीक्षक शाहीले बताए ।
कोल्टी प्राथमिक उपचार केन्द्रमा भएको गर्भवती निर्मलाको जटिल शल्यक्रियाले नागरिकलाई घर नजीकै गुणस्तर सेवा पाइने विश्वास जगाएको छ । अब सुदूरपश्चिमको कोल्टी बाजुरा मात्र नभएर त्यससँग जोडिएका हुम्ला, मुगु र कालीकोट केही स्थानीय तहका नागरिकलाई कठिन भूगोलकै बीचमा भए पनि गुणस्तरीय स्वास्थ्य उपचार सेवा पाउन सकिने आशा पलाएको छ ।
काठमाडौंमा चोकैपिच्छे भेटिने अस्पतालका अगाडि सुदूरपश्चिम तथा कर्णाली प्रदेशका दुर्गम जिल्लाका नागरिकले सामान्य उपचार सेवा लिन घण्टौँ हिँड्नुपर्ने विवशताले राज्य आफैँलाई लज्जित बनाएको कर्णालीका नागरिक समाजका अगुवा पिताम्बर ढकालले टिप्पणी गरे उनले भने, ‘नागरिकको स्वास्थ्य सेवा सुनिश्चित गर्न तीनै तहका सरकारको महत्वपूर्ण भूमिका हुनुपर्दछ ।’
मूलतः आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित कर्णाली तथा सुदूरपश्चिमका अति विकट जिल्लाले पछिल्ला केही वर्षदेखि जटिल खालको स्वास्थ्य सेवासमेत आफ्नै ठाउँमा पाउन थालेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले विशेषज्ञ चिकित्सकीय स्वास्थ्य सेवा विस्तार गरेपछि दुर्गम कर्णालीमात्र होइन, सुदूरपश्चिमको अति विकट मानिने बझाङ, बाजुरा र अछामसम्मका नागरिकलाई राहत महसुस गरेका छन् ।
प्रतिष्ठानले कर्णालीका १० र सुदूरपश्चिमका तीन जिल्लालाई आफ्नो विशेष कार्यक्षेत्र बनाउँदै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने योजनालाई अघि बढाइएको अस्पताल निर्देशक डा मंगल रावलले जानकारी दिए । विस्तारित गुणस्तरीय स्वास्थ्य सेवाको योजनाअनुसार बाजुराको कोल्टी पुगेको विशेषज्ञ चिकित्सकको टोलीले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमै मुगुकी एक गर्भवती र नवजात शिशुको ज्यान र पैसा जोगाउन सफल भएको घटनाले थप उत्साह मिलेकोे बताए । निर्देशक डा रावलले भन्नुभयो, ‘नेपालको संविधानले व्यवस्था गरेको मौलिक हकअन्तर्गत धारा ३५ मा उल्लेख गरिएको स्वास्थ्यसम्बन्धीको हक सुनिश्चितता जुम्ला प्रतिष्ठानले अख्तियार गरेको गुणस्तरीय स्वास्थ्य सेवा विस्तारसँग सम्बन्धित ‘कर्णाली मोडल’ ले गर्छ । जसलाई मूल मर्म बनाएर हामी अगाडि बढिरहेका छौँ ।’
‘कर्णाली मोडल’ ले यहाँ दुर्गम गाउँका नागरिकको स्वास्थ्य अधिकारको प्रत्याभूति गराउने उनको दाबी छ । कर्णालीको मानव विकास सूचांकलाई स्वास्थ्य, शिक्षा र अनुसन्धानका माध्यमबाट माथि उठाउन सहयोग पु¥याउने स्वास्थ्य क्षेत्रको एकमात्र धरोहर प्रतिष्ठानलाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गर्नुपर्ने निर्देशक डा. रावलको भनाइ छ । प्राथमिक उपचार केन्द्रमा समेत चिकित्सक नभइरहेका बेला प्रतिष्ठान जुम्लाले दुर्गम जिल्लाका नागरिकका लागि गुणस्तरीय स्वास्थ्य उपचार सेवामा बढोत्तरी दिएपछि सुर्खेत, नेपालगञ्ज, चितवन, काठमाडौंलगायत सुविधा सम्पन्न ठाउँसम्म पु¥याउनु पर्दा हुने महँगो खर्च र गर्भवतीको स्वास्थ्य जोखिममा समेत अब न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया