नेकपा फुटेको छैन

उषाकला राई

अहिले पनि हाम्रो पार्टी वैधानिक रूपमा फुटेर दुई वटा भइसकेको छैन । पार्टी एउटै छ । अझै पनि एक हुने सम्भावना छ । म चाहिँ हरेक अन्धकारमा पनि कुनै न कुनै उज्यालोको कल्पना गर्न सक्ने मान्छे हो । त्यो कोणबाट हेर्दा पनि पार्टी एक हुने धेरै अवस्था छन् । विभाजनतिर नै गइरहोस् भनेर हामी कार्यकर्ताले कामना गर्ने कुरा राम्रो होइन । विभाजन भनेको सबैका लागि हानी नोक्सानीको कुरा हो । मुख्य गरेर पार्टी मात्रै होइन, राष्ट्रकै लागि हानिकारक हुन्छ । राजनीतिमा, लोकतन्त्रमा विचार स्वतन्त्र हुन्छ । आफ्नो विचार र दृष्टिकोण जहाँ जसरी मिल्छ, त्यहीअनुसार लाग्ने हो । सकेको काम गर्ने हो । हामीलाई के लाग्यो भने यता हामीलाई धेरै नै सजिलो छ । दृष्टिकोण र विचार यता धेरै मिल्यो । त्यसले गर्दा हामी यता फर्किएका हौँ । अहिले पनि केपी ओलीले नेतृत्व गर्नुभएको समूहमा हामी हिजोका पूर्व एमाले एक छौँ है । हामी ‘जनताको बहुदलीय जनवाद’ मान्नेहरू प¥र्यौँ । अहिले प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल समूह एक ठाउँमा भइरहँदा त्यहाँ अहिले पनि पार्टी एउटा छैन । दुई वटा छ । टुँडिखेलमा कार्यक्रम त हुन्छ तर, माओवदी तर्फबाट को–को बोल्ने ? एमालेका तर्फबाट को–को बोल्ने ? प्रचण्डको तर्फबाट को–को बोल्ने अथवा माधव नेपालको तर्फबाट को–को बोल्ने भनेर त्यहाँ भागबन्डा हुन्छ ।

कुनै कमिटीहरू अहिले पनि एक भइसकेका छैनन् । कुनै पनि संरचना निर्माण नै भइसकेको छैन । त्यो हामीले भोगेरै आएको हो । जिल्ला, पालिका, वडा वा तल–तलसम्म गएकै छैन । त्यो ठाउँमा कहिलेसम्म जाने ? अहिले पार्टीमा अनौपचारिक रूपमा ग्रुप छुट्टियो । यताउता समूह छुट्टियो । छुट्टिँदा माधव नेपालका यति जना मान्छे यता भए । त्यो ठाउँमा माधव नेपालको थप्ने अथवा पूर्व एमालेका तर्फबाट थप्ने । यहाँ त माओवादी विभाजित भएको देखिएन नि, एमाले विभाजित भएको देखियो । त्यहाँभित्र सिद्धान्तदेखि लिएर धेरै कुरा मिलेको छैन । व्यवहार पनि केही पार्टीमा अन्नतरद्वन्द्व, विचारका विमति भन्ने कुरा आन्तरिक लोकतन्त्रको एउटा पक्ष पनि हो । त्यसलाई कति सुधार गर्न सकिन्छ त्यसको संघर्षबाटै समाधानमा जाने हो । संघर्षबाटै नयाँ सिर्जना जन्मिने हो । त्यसकारण आन्तरिक संघर्ष आन्तरिक द्वन्द्व भनेको द्वन्द्वात्मक भौतिकवादको नियम पनि हो । ती कुराहरू हुन्छन् पाटीभित्र । तर पार्टी नै फरक, विचार नै फरक भएको समूह चाहिँ अहिले माधव नेपाल र प्रचण्डको समूह भएको छ । माधव नेपालहरू जनताको बहुदलीय जनवाद मान्नुहुन्छ । प्रचण्डहरू २१औँ शताब्दीको जनवाद मान्नुहुन्छ । अथवा जनताको जनवाद भन्दै हुनुहुन्छ ।

माधव नेपाललाई जनताको बहुदलीय जनवाद हराएको हो त ? भनेर अहिले सोध्नुस् त । के भन्नुहुन्छ ? जनताको जनवादभित्र जनताको बहुदलीय जनवाद छ भनेर भन्नुहुन्छ । त्यो कुरा प्रचण्डले मान्नुहुन्छ ? त्यही सिद्धान्तमा फरक छ उहाँहरूको । त्यो फरक कुरा नपचाइ–नपचाइ उहाँहरू मिलिरहनुभएको छ नि त । त्यसभित्र अप्ठ्यारो छ । सिद्धान्तमै त्यो कुरा फरक देखेँ मैले । अहिले त केही समस्या नदेखिएला । अहिले समूह ठूलो देखिएला तर, कालान्तरमा यो समस्या ठूलो देखिन्छ । त्यसकारण भोलि दुर्घटनामा पर्नुभन्दा अहिले नै आफूले लिएको बाटो लिएका हौँ । बाटो फरक नै भएको कारणले भोलि दुर्घटनामा नपरौँ । बरू अहिले नै उभिदिऊँ भनेर हामी उभिएको हो । नत्र भने हामी लामो समयसम्म माधव नेपाल र झलनाथ खनाललाई सहयोग गर्दै आएको मान्छे हो । राजनीतिमा त सिद्धान्त नै प्रधान हुन्छ । सिद्धान्त नै दुइटा बोकेर बसिरहेका छन् त्यहाँभित्र । अहिले जे भनिरहेका छन् त्यो भन्या मात्रै हो लुकाएर बसिरहेका छन् । हामीले त भोगेर आयौँ नि । सिद्धान्त लुकाएर बसिरहेका छन् अनि जनवाद । झलनाथ र माधवलाई सोध्नुस् त जनताको जनवादमा मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद हराएको हो भनेर सोध्नुस् त । उहाँहरूले हराएको होइन यहीँ छ भन्नु हुन्छ । प्रचण्डलाई सोध्नुस् त होइन, यो त विलय भइसक्यो । समाप्त भइसक्यो त्यो कुरा त भन्नुहुन्छ ।

त्यो समूहमा प्रचण्ड हाबी हुनुहुन्छ । यो कुरा पक्का हो । अब हामी त पूर्व एमालेहरू प¥यौँ । आमा त आमा नै हो साइनोले । तर सानीआमा र आफ्नी आमालाई फकाउने, माग्ने कुरामा पनि धेरै फरक पर्छ होला नि छोराछोरीलाई । अलि गाह्रो हुँदो रहेछ । हामीलाई त त्यस्तै अनुभव भयो । सिद्धान्तमा स्पष्टता भएर नै हामी फर्किएका हौँ । हामी पूर्व एमाले नेतृत्वको समूहमा दुइटा सिद्धान्त छैन । यहाँ दुइटा पार्टी छैन । तर माधव नेपाल र प्रचण्ड नेतृत्वको समूहमा सिद्धान्तमा स्पष्टता छैन । त्यहाँ दुईवटा विचार छन् ।

 

अहिले प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल समूह एक ठाउँमा भइरहँदा त्यहाँ पनि पार्टी एउटा छैन । दुई वटा छ । टुँडिखेलमा कार्यक्रम त हुन्छ तर, माओवदी तर्फबाट को–को बोल्ने ? एमालेका तर्फबाट को–को बोल्ने ? प्रचण्डको तर्फबाट को–को बोल्ने अथवा माधव नेपालको तर्फबाट को–को बोल्ने भनेर त्यहाँ भागबन्डा हुन्छ ।

 

केपी ओलीले नेतृत्व गर्नुभएको पार्टीमा एकजना मात्रै नेता हुनुहुन्छ । तर दाहाल–नेपालले नेतृत्व गर्नुभएको पार्टीमा दुईजना अझै तीन जना हुनुहुन्छ । मूलतः सिद्धान्त नै फरक प¥यो । भोलि गएर कुनै न कुनै राजनीतिक दौरानमा छुट्टिनुपर्छ, सधैँभरी राम्रो त हुँदैन। कालान्तरमा गएर द्वन्द्वको बिउ नै रोपिन्छ । त्यहीँ भित्र अहिले नै सैद्धान्तिक रूपमा विवाद छ । त्यसमा उहाँहरू त मिल्नुहुन्न भोलि । त्यो गाह्रो कुरा छ हेर्नुस् । अब हेरिरहनुहोला त्यहाँ धेरै गाह्रो छ । त्यहाँ अब छुट्टिने क्रम सुरू हुन्छ । केपी ओलीले गर्नुभएका काम, कुरा सबै राम्रो, सबै मिलेको भनेको होइन । तर जे भए पनि हाम्रो पार्टीको अध्यक्ष त हो । बरू त्यसभित्र असहमति भए जुध्न सकिन्छ, झगडा गर्न सकिन्छ । किनभने सिद्धान्त एउटै छ, बाटो पनि प्रष्ट छ ।

म जतिखेरसम्म जुन दिनसम्म माधव नेपाल–पुष्पकमल दाहाल समूहमा थिए । त्यहाँ माओवादी साथीहरूसँग व्यक्तिगत रूपमा कुनै समस्या होइन । तर, सिद्धान्तको हिसाबले उहाँहरूको नेता त प्रचण्ड नै हो । प्रचण्डपथ प्रष्ट नै हो । उताको राजनीति र यताको राजनीतिक तौरतरिका धेरै फरक छ । सैद्धान्तिक कुरा, व्यावहारिक कुरा नै मुख्य हो । पहिलो त सिद्धान्तकै कुरा हो । कहाँबाट आयो यो जनताको बहुदलीय भनेर केही मान्छेहरूले भनेका छन् । त्यो चाहिँ पूर्व माओवादी पृष्ठभूमिका केही साथीहरूले भनेका होलान् । तर, त्यो गलत कुरा हो ।

अझै पनि उहाँहरूलाई हाम्रो शुभकामना छ । पार्टी अब एकढिक्का होस् । पहिलो कामना त त्यो हो । तर, पार्टी फरक हुँदा पनि शुभकामना छ । म के भन्छु भने सैद्धान्तिक रूपमा प्रष्ट हुनुपर्छ । मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको आलोकमा मात्रै अहिले हामी कुद्न सकेका छौँ र हिँड्न सकेका छौँ । यति गरेर खान सकेका छौँ । जनताको बहुदलीय जनवाद नै हाम्रो सिद्धान्त हो भन्न प्रचण्डले किन हिच्किचाउने ? प्रचण्ड किन हिच्किच्याउनुहुन्छ त ? उहाँले त्यो कुरा प्रष्ट नभनीकन त्यहाँ प्रष्ट हुँदैन । किनभने हामीले आन्तरिक प्रतिस्पर्धा, बहुदलीयता, मानवअधिकारका कुरा, बुलेटबाट ब्यालेटमा विश्वास गरेर कम्युनिस्ट पार्टीलाई एउटा लोकतान्त्रिकरणको विधिमा ल्याउने कुरामा मदन भण्डारीले योगदान गर्नुभयो । विश्व कम्युनिष्ट आन्दोलन विसर्जन भइरहेको परिस्थितिमा यो कुरा नेपालमा फस्टायो । त्यो कुरा त स्वीकार्नुप¥यो नि त । तर उहाँहरू त्यो कुरा मान्नुहुन्न । त्यो कुरा नमानुन्जेलसम्म त अवश्य पनि राजनीतिमा सिद्धान्त प्रधान हुन्छ । उहाँहरूलाई जनताको बहुदलीय जनवाद मानेर जान किन र के कुराले रोक्यो ? अहिलेसम्म अड्कियो नि त । अहिलेसम्म यत्तिकै लछारिएर पछारिएर मात्रै माधव नेपालहरू केपी ओलीसँग नमिल्दाको परिणाम प्रचण्डलाई फाइदा त भयो नि । माओवादीलाई फाइदा भयो ।

अब सैद्धान्तिक रूपमा पनि दाहाल–नेपालबीच बिमति रहन्छ, अझ व्यावहारिक बिमति त छँदैछ । नेताहरूले माथि एक÷दुई जनाले मात्र सम्मान पाएर मात्रै भएन। तलसम्म कार्यकर्ताको हैसियत के हुन्छ ? तल संगठन त सबै एमालेको धेरै छ । अनि संगठन निर्माण एमालेले धेरै गरेको छ । उहाँहरू द्वन्द्वबाट आउनुभएको हो । उहाँहरूले संगठन निर्माण धेरै गर्नुभएको छैन । यो यथार्थलाई त स्वीकार्नुप¥यो । जनता त अहिले एमालेकै पक्षमा छ नि । जति माधव नेपाल, झलनाथ खनाल भनेर उभिएलान् ती मान्छेहरूले जनताको बहुदलीय जनवाद चाहियो भनेर भन्लान नि ! जनताको बहुदलीय जनवादमा जबसम्म त्यहाँ अस्पष्ट हुन्छ तबसम्म उनीहरू आइहाल्छन् । केपी ओली मन नपरे पनि उहाँले नेतृत्व गरेको पार्टी त हाम्रै हो भन्दै अहिले पनि मान्छेहरू आइरहेका छन् । भोलि पनि पक्कै उनीहरू आउने नै छन् । यो सत्य कुरा हो । (कुराकानीमा आधारित)

प्रतिक्रिया