कोरोनाखोप : नेपालमा छैन ‘साइडइफेक्ट’!

काठमाडौं । कोरोना भाइरसविरुद्ध नेपालमा प्रयोग भईरहेको कोभिडशिल्ड नामक खोपमा अहिलेसम्म साइडफेक्ट भेटिएको छैन । सरकारले पहिलो चरण र थप गरिएको समयमा ४ लाख २९ हजारलाई खोप लगाएको थियो । खोप लिएकामध्ये ९ जनालाई मात्रै ज्वरो आएको जानकारी गराएका थिए । तर, ती ९ जना नै अहिले निको भएर स्वस्थ रहेका छन् । सरकारले पहिलो चरणमा १८६ केन्द्रबाट १ लाख ८५ हजार ८६५ जनालाई खोप लगाएको थियो । लक्ष्यभन्दा करिव १५ प्रतिशत कमले भारतबाट ल्याइएको कोभिशिल्ड खोप प्रयोग गरेका थिए । त्यसपछि कुटनीतिक नियोग, संयुक्त राष्ट्रसंघका कर्मचारी र पत्रकार र पहिलो प्राथमिकताको दोस्रो चरण गरेर ४ लाख २९ हजार जनालाई खोप लगाएको थियो । कतिपय देशमा खोप लगाएपछि इलर्जी हुने, गम्भिर समस्या पर्ने विषयहरु आएका थिए । तर, नेपालमा भने त्यस्तो कुनै समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

खोप विज्ञ डाक्टर श्यामराज उप्रेतीले भने, ‘अहिलेसम्म चार लाख बढीले खोप लगाइसके । त्यसमध्ये ९ जनालाई अलि बढी ज्वरो आयो । तर अहिले सबै सञ्चो भइसक्नु भएको छ ।’ त्यसबाहेक कसैलाई गम्भीर असर नदेखिएको पनि उनले सुनाए । उप्रेतीका अनुसार खोपबाट एक हजार ९११ लाई भने सामान्य प्रकारको असर देखिएको बताए । ती असरमा सुई लगाएको भागमा दुख्ने, सुन्निने, गाँठो पर्ने, टाउको दुख्ने, जिउ र जोर्नीहरु दुख्ने, रुघाखोकी लाग्दा फ्लु जस्ता चिन्ह तथा लक्षण देखिने, मध्यम ज्वरो आउने, वाकवाक लाग्ने जस्ता सामान्य समस्या देखिएका थिए । ती समस्या केही दिनमा आफैँ ठीक भएका छन् ।

खोप लगाएका १९०२ लाई सामान्य प्रकारको असर, ९ जनालाई ज्वरो तर अहिले स्वस्थ, फागुन २३ पछि दीर्घरोगी र अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर खोप लगाइने

विश्वमा हाल परीक्षणपश्चात् आएका विभिन्न खोप प्रयोगमा आएको छोटो समय भएको र खोप लगाएपछि यसबाट सुरक्षित हुने निश्चित समय एवं समग्र प्रभावकारिताका विषयमा अध्ययन अझै जारी नै रहेकाले खोप लगाएपश्चात कति समयसम्म शरीरमा एन्टिबडी रहन्छ भन्नेबारेमा हालसम्म विज्ञहरुले स्पष्ट जवाफ भने दिएका छैनन् । खोप लगाइसकेकामा विशेषतः तीन सातापछि एन्टिबडी विकास भएको पाइएको छ तर सबै व्यक्तिमा उस्तै किसिमले एन्टिबडी विकास नहुन पनि सक्छ । हाल खोप कम्पनी एवं वैज्ञानिकका अनुसार खोपको दुवै मात्रा लगाएपछि शरीरमा प्राकृतिक एन्टिबडी विकास भई पाँचदेखि छ महिना वा एक वर्षसम्म पनि एन्टिबडी रहिरहन्छ । दीर्घ रोगीले पनि खोप लगाउन सकिन्छ तर रगत पातलो बनाउने औषधि खाइरहेका, स्नायुसम्बन्धी औषधि सेवन गरेका, गर्भवती, स्तनपान गरिरहेकाले भने खोप नलगाउन चिकित्सकहरुले सुझाएका छन् । यो खोप सुरक्षित देखिएकाले सबै ढुक्क भएर खोप लगाउन पनि उप्रेतीले अनुरोध गरे ।

सरकारले फागुन २३ गतेदेखी दोस्रो चरणको खोप लगाउन शुरु गर्दैछ । स्वास्थ्य मन्त्रालयले ६ हजारभन्दा बढी खोप केन्द्रबाट दोस्रो चरणको खोप लगाइने जनाएको छ । प्रवक्ता डा जागेश्वर गौतमले ७७ वटै जिल्लाका ६ हजारभन्दा बढी खोप केन्द्रबाट दोस्रो चरणको खोप लगाइने जानकारी दिए । फागुन २३ गतेदेखि सञ्चालन हुने दोस्रो चरणको खोप अभियानमा मन्त्रालयले ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाउँदैछ । दोस्रो चरणको प्राथमिकतामा परेका सबै ज्येष्ठ नागरिकलाई खोप लगाउन मन्त्रालयको आग्रह छ । प्रवक्ता गौतमले भने, ‘५५ वर्ष पुगेका विद्यालयका शिक्षक, कर्मचारी र अन्य प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाउँदैछौ । प्राथमिकतामा परेका सबैलाई खोप लगाउन अनुरोध गर्दछौं ।’ दीर्घ रोग लागेका ४५–५४ वर्ष समूहका मानिसलाई खोप लगाउने सरकारले तयारी गरेको छ । दीर्घरोगी र अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर खोप लगाइने भएको छ । यो समूहमा ५१ लाख बढी जनसंख्या रहेको मन्त्रालयले अनुमान गरेको छ । ५१ लाख मानिसलाई दुई डोज खोप दिन खेर जान सक्ने खोपसमेत हिसाब गर्दा सवा करोड खोप चाहिने स्वास्थ्य मन्त्रालयले अनुमान गरेको छ ।

दोस्रो चरणको खोप पूरा हुँदा नेपालको कुल जनसंख्याको २० प्रतिशतले खोप पाइसक्ने जानकारी स्वास्थ्य सचिव लक्ष्मण अर्यालले दिए । १५ वर्षमाथिका मानिसलाई मात्र खोप लगाउने तयारी सरकारको छ । त्यो उमेर समूहभन्दा तल खोपको परीक्षण भएको छैन । जम्मा २ करोड १७ लाख मानिसलाई खोप लगाउने मन्त्रालयको लक्ष्य छ । दोस्रो चरणको खोप कहिलेसम्ममा लगाइ सकिन्छ भन्ने अझै एकिन छैन । खोपको उपलब्धताले त्यो निक्र्यौल हुने भए पनि असार दोस्रो हप्तासम्म दोस्रो चरणका दुबै डोज खोप लगाइसक्ने योजना रहेको सचिव अर्यालले सुनाए । सचिव अर्यालले सरकारले थप ५० लाख डोज खोप खरिद गर्ने तयारी गरेको जानकारी दिए । गत माघ ८ गते भारतले १० लाख डोज खोप अनुदानमा उलब्ध गराएको थियो भने सरकारले २० लाख डोज खोप खरिद गरी १० लाख डोज नेपाल ल्याइसकेको छ । बाँकी रहेको १० लाख डोज खोप पनि आउने क्रममा छ । सरकारले प्रति डोज ४ डलरमा २० लाख डोज खोप खरिद गरेको थियो ।

सरकारले भारतको सेरम इन्स्टिच्युटबाट उक्त खोप खरिद गरेको हो । अब पनि सेरमबाट नै खोप खरिद गर्ने तयारी भइरहेको छ । कोरोना भाइरस विरुद्धको खोप अभियानमा दोस्रो प्राथमिकतामा ५५ वर्ष माथिका नागरिकहरु, ४० देखि ५४ वर्ष उमेर समुह मध्ये तोकिएका दीर्घ रोग भएका व्यक्तिहरु र तोकिएका दीर्घरोगी प्रवासि कामदार र शरणार्थीहरुलाई खोप लगाउने लक्ष्य लिएको छ । यस्तै, कोभ्याक्स मार्फत पनि करिब १ करोड ३० लाख डोज खोप नेपाल भित्रिदै छ । तर पहिलो चरणमा भने केही दिनमा नै १९ लाख खोप आउने भएको छ । सचिव अर्यालका अनुसार चीन सरकारले पनि ५ लाख डोज खोप सहयोग गर्ने निर्णय गरिसकेकाले उक्त खोप पनि आउने तयारी भइरहेको छ ।
यसैबीच, सरकारले निजी क्षेत्रलाई पनि खोप खरिदका लागि बाटो खोलिदिने भएको छ । सचिव अर्यालले खोप खरिदका लागि निजी क्षेत्रलाई पनि अनुमति दिने तयारी गरेको जानकारी दिए । ‘हाम्रो सोचाइ के हो भने, २० प्रतिशत जनतालाई खोपको सुनिश्चितता भइसकेपछि हामी निजी क्षेत्रलाई पनि खोप आयातको लागि खुला गर्छौं । तर हामीले तोकेको सर्त पुरा गर्नुपर्छ’, उनले भने ।

उनले निजी क्षेत्रलाई खोप आयात गर्न दिन कानुनी बाटो पनि खुल्ला भइसकेको बताए । तर, निजी क्षेत्रले खोप आयत गर्न स्वास्थ्य मन्त्रालयले तोकेको तीन सर्त पुरा गरेपछि मात्र खोप आयात तथा बिक्री गर्न पाउनेछन् । सचिव अर्यालका अनुसार निजी क्षेत्रले खोप आयात गर्न मन्त्रिपरिषद्ले तीन सर्त पुरा गर्नुपर्ने निर्णय गरिसकेको छ । सरकारले तोकेको मुल्य, स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य संस्थामा मात्रै वितरण गर्नुपर्ने र स्वास्थ्य मन्त्रालयले तोकेको प्राथमिकताको आधारमा मात्र खोप लगाउनुपर्ने शर्त राखेको छ ।

प्रतिक्रिया