बहसमा कार्टुन पत्रकारिता

काठमाडौं । अभिव्यक्ति स्वतन्त्रतामा अंकुस लगाउँदा सिर्जनशीलतामा असर पर्ने बताइएको छ । कार्टुनिस्ट क्लव अफ नेपालले शनिबार राजधानीमा आयोजना गरेको ‘कार्टुन पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रता’ विषयक बहस कार्यक्रममा सहभागी वक्ताले राजनीतिक दलले सत्ताको लक्ष्य हासिल गर्न सञ्चार क्षेत्रलाई प्रयोग गर्ने गरेको जिकिर गरे । उनीहरुले लक्ष्य पूरा हुनेबित्तिकै अभिव्यक्ति स्वतन्त्रता कुण्ठित बनाउने वातावरण तयार गर्ने प्रवृत्तिविरुद्ध एकजुट हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले प्रेसमात्र होइन, फ्रि प्रेस र आलोचनात्मक कार्टुनको माध्यमबाट सञ्चारक्षेत्रले खबरदारी गर्ने बताए । उनले भने, ‘सेवकको जस्तो पारा देखाउने पत्रकारिता र कार्टुनमा झल्किनु हुँदैन ।’ उनले सञ्चारमाध्यमले विसंगतिमाथि खबरदारी गर्दा सार्वजनिक महत्वको विषय हुनुपर्ने, बदनियत नराखी जनतालाई सुसूचित गर्नका लागि आलोचनात्मक हुँदा कानुनको बन्धनमा पार्न नहुने विचार व्यक्त गरे । गाउँलेले सञ्चार तथा कार्टुन क्षेत्रका सबैले नियम कानुनको बारेमा पनि जानकारी राख्दै सार्वजनिक हितका लागि आवाज उठाउन छोड्न नहुनेमा जोड दिए । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले देशको ठूला पदमा रहेका व्यक्तित्वसँगको पहुँचसम्म पुग्दा सुरक्षा निकायको थुप्रै घेराको सामना र नियम मान्दै हिड्नुपर्ने अवस्था विद्यमान रहेकोले मुलुकमा गणतन्त्र आएको आभास नै नभएको जिकिर गरे । उनले भने, ‘सरकारले सञ्चार माध्यममार्फत भक्तिगानको मात्र अपेक्षा राख्ने, आलोचना सुन्नै नसक्ने प्रवृत्ति छ । आलोचनाले कमजोरी सुधार्न मद्दत पु¥याउँछ भन्ने सोचको विकास गर्नुपर्छ ।’ उनले लोकतन्त्रको सौन्दर्य नै अभिव्यक्ति स्वतन्त्रता रहेको धारणा राख्दै आलोचनात्मक चेतले समाजलाई गतिशील र विकसित बनाउने विचार व्यक्त गरे ।

कार्टुनिष्ट क्लवका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले कार्टुन सत्ताको जहिले प्रतिपक्ष हुने जनाउँदै समाज, राजनीति तथा सार्वजनिक विषयमा भइरहने विकृति विसंगतिविरुद्ध यो सशक्त माध्यम भएको बताए । उनले सूचनाको बलियो पाटो कार्टुन बनाएर छाप्नेबेला सम्पादकले कार्टुन छापेकै आधारमा कारबाहीमा परिन्छ कि भन्ने डरका कारण व्यापक छलफलपछि मात्र छापिने अवस्थामा कार्टुनिस्टले काम गरिरहेको जिकिर गरे । उनले भने, ‘यो अवस्था राजधानीभन्दा पनि मोफसलका कार्टुनिस्टले बढी सास्ती भोग्नुपरेको छ ।’

कार्यक्रममा नेपाल ललितकला पत्रकार समाज (सोेफाज) का अध्यक्ष केशव राज खनालले अभिव्यक्ति स्वतन्त्रताको हनन हुँदा कार्टुनको माध्यमबाटै आलोचनात्मक सूचना, जानकारी प्रवाह गर्ने कार्टुनिस्ट नै पहिलो निशानामा पर्ने बताए । उनले भने, ‘कार्टुन दृश्यभाषा भएकाले सबै तह र तप्काका मानिसले यसको विचार र भावपक्ष सहजै बुझ्न सक्ने भएकाले खबरदारीको सशक्त माध्यम बन्न गएको छ ।’ सोफाजका अध्यक्ष खनालले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने नियन्त्रणमुखी कानुन बन्न नहुने विचार व्यक्त गरे । क्लबका अध्यक्ष वासु क्षितिजले विगतमा पत्रिकामा मात्र छापिने कार्टुनलाई अहिले एफएम रेडियो तथा टेलिभिजनले समेत पढ्ने गरेको प्रसंग सम्झँदै कार्टुनको महत्व व्यापक बन्दै गएको बताए । उनले समाजका विकृति विसंगतिका विरुद्ध कार्टुनले सशक्त रुपमा प्रतिवाद गर्दै आइरहेको जिकिर गरे । क्लबका अध्यक्ष क्षितिजले समाज रुपान्तरणमा कार्टुनले आवश्यकता अनुसार आफ्नो भूमिका निर्वाह गर्दै आइरहेकाले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन नहुनेमा जोड दिए ।

प्रतिक्रिया