गाउँलाई सहरसँग जोड्न पक्की पुल बन्दै

म्याग्दी । हिमाली जिल्ला म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोड्न विभिन्न स्थानमा १३ पक्की पुल निर्माण गर्न थालिएको छ । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोड्ने गरी सडकको पहँुच पुर्याउन गण्डकी प्रदेश र संघ सरकारले १३ पक्की पुल निर्माण गर्न लागेको हुन् । प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले १०, संघीय सरकारअन्तर्गतको सडक डिभिजन कार्यालय बागलुङले दुई र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत एक पक्की पुल निर्माण गर्न लागिएको पूर्वाधार विकास कार्यालयका प्रमुख नवराज पौडेलले जानकारी दिए । पौडेलका अनुसार पूर्वाधार विकास कार्यालयमार्फत निर्माण हुने तीन पुल आगामी जेठ महिनासम्म सम्पन्न गर्ने लक्ष्य छ ।

अन्नपूर्ण गाउँपालिकाको हिस्तान र राम्चेलाई जोड्ने सन्सारी खोला पुल, मालिका गाउँपालिका केन्द्र दरवाङको छयारछेरेको म्याग्दी खोलामा निर्माण हुने पुल र मराङ बेँसी अर्कला पुल जेठ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । सोही लक्ष्यलाई पछ्याउँदै अहिले यी तीनवटा पुलमा धमाधम काम भइरहेको छ । यसैगरी मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि वडा–५ अर्मनलाई गाउँपालिका केन्द्रसँग जोड्न म्याग्दी खोलामा बन्न लागेको पुल पनि निर्माणाधीन अवस्थामा छ । ११ करोड २४ लाख २५ हजार ५२ लागतमा म्याग्दीखोलामा पक्की पुल बनाउन लागिएको हो । असी मिटर लम्बाइ रहने यो पुल दुई वर्षमा सक्ने गरी ०७५ पुस २५ गते लुम्बिनी प्राकृतिक जेभीसँग ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । कार्यालयका अनुसार यो पुलको भौतिक प्रगति ६५ प्रतिशत छ । आगामी एक वर्षभित्र दुवै पुलको निर्माण सक्ने गरी यतिखेर धमाधम काम भइरहेको छ ।

बेनी नगरपालिका–४ सिंगादेखि मंगला गाउँपालिकाको वडा–३ वरङ्जालाई जोड्ने गरी म्याग्दी खोलामा पक्की पुल निर्माणाधीन छ । यो पुलको कुल लागत १० करोड ७२ लाख १२ हजार छ । यो पनि लुम्बिनी प्राकृतिक जेभीले बनाउन लागेको हो । अहिलेसम्म पुलको ६० प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले निर्माण गर्न लागेको मालिका–७ भारबाङघाट सडक पुलको ४५ प्रतिशत भौतिक प्रगति भएको कार्यालयले जनाएको छ । भारवाङको पुल निर्माण गर्न देव एन्ड सायर बिएन जेभीसँग ६ करोड २४ लाख २३ हजारमा ठेक्का सम्झौता भएको थियो । उता पश्चिम म्याग्दीको मालिका–५ र धौलागिरि–७ को सिमाना दाङखोलामा पनि पक्की पुल निर्माण गरिने भएको छ । यो पुलका लागि इन्द्रेणी फेवा जेभीले १ करोड ९३ लाखमा ठेक्का सम्झौता गरेको छ ।

बिमदेखि मराङ र मल्कबाङलाई जोड्ने अर्कलामा निर्माणाधीन पक्की पुलको पनि ३५ प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । २ करोड ७२ लाखमा फेवा सावित्री जेभी पोखरासँग एक वर्षअघि ठेक्का सम्झौता भएको थियो । यसरी म्याग्दीका विभिन्न बस्तीलाई सहरसँग जोड्ने गरी धमाधम पुल निर्माण कार्यले गति लिन थालेपछि स्थानीयमा उत्साह जागेको छ । ‘अब हामी पनि सहरदेखि टाढा छैनौँ भन्ने महसुस हुन थालेको छ’, मालिका गाउँपालिका–२ ताकमका शेरबहादुर विकले भने, ‘गाउँगाउँमा मोटर गुड्न थालेपछि बल्ल विकास भनेको यस्तो हुँदो रहेछ भनेर बुझिँदै छ ।’

प्रतिक्रिया