कांग्रेस नेता जोशीको अवस्था जटिल

काठमाडौं । कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था जटिल भएको छ । विहिवार मध्यराति १२ बजे बायाँ हात चल्न छोडेपछि ‘मलाई अस्पताल लैजाऊ’ भन्दै श्रीमतीलाई भनेपछि १ बजे वीर अस्पताल पु¥याइएका जोशी ३ बजेसम्म आफ्नो स्वास्थ्य अवस्थाको चासो राखिरहेका थिए । विर अस्पतालमा उपचारकै क्रममा जोशी बेहोस भएपछि त्यहाँ सिटी स्क्यान गर्दा मस्तिष्कमा रक्तश्राव देखिएको थियो । डाक्टरकै सल्लाहमा जोशीलाई राति नै थप उपचारका लागि नर्भिक अस्पताल पु¥याइएको थियो । नर्भिकमा साढे ३ बजे विशेषज्ञ डा. राजीव झा नेतृत्वको टोलीले उपचार गर्दासम्म जोशी कोमामा गएका थिए ।

‘उहाँलाई भोमिट भएछ र फोक्सोतिर गएछ, (इमर्जेन्सी इन्डुबेसन भन्छ) पाइप राखेर सास फेर्न सहज बनाइयो । एउटा आँखाको नानी पनि फूलेको अवस्था देखियो, ब्लडको क्लटले अवरुद्ध गरेर मस्तिष्कमा पानी जम्न थालिसकेको थियो’, डा. झाले भने, ‘त्यो जटिल अवस्था देखिएपछि अप्रेसनको तयारी ग¥यौं तर, उहाँले रगत पातलो गर्ने औषधि खाइरहनुभएको रहेछ । अप्रेसन सम्भव हुने कुरा भएन ।’ झाले अप्रेसन सम्भव नभएकै कारण जोशीको टाउकोमा ड्रिल गरेर पानी बाहिर पठाएको र त्यो पानी अहिलेसम्म गइसकेको जानकारी दिए । आँखाको नानी फूल्नु जटिल अवस्था भएको उनले जानकारी दिए ।

जोशीलाई अहिले ब्लड प्रेसर बढाउने औषधि (एनोट्रप्स) दिइएको छ । चलमल गर्दा फेरि रक्तश्राव हुने भएकाले भेन्टिलेटरमा चलमल गर्न नमिल्ने (सिडेड) गरेर राखिएको छ । दिमागमा रहेको पानी बढी हुन नदिन ओभरफ्लो बनाइएको छ र करिब १२० मिलिलिटर पानी त्यहाँबाट निस्किसकेकाले मस्तिष्कको प्रेसर घटेको डाक्टरको भनाइ छ ।

अहिले उनको शरीरलाई काम गर्न सहयोगका लागि ‘ट्युब फिडिङ’ गरिएको छ । जोशीको उपचारको नेतृत्व गरिरहेका डा. राजीव झाका अनुसार फरक–फरक विधाका १२ डाक्टरले नियमित निगरानी गरिरहेका छन् भने नियमित अवस्था अपडेटका लागि थप चिकित्सक पनि परिचालित छन् ।
डा. झाले जोशीको जस्तो अवस्थामा विश्वभरका अभ्यास हेर्दा करिब ३० प्रतिशत मात्र आशा हुने गरेको भन्दै आफूहरू पनि त्यही आशाका साथ उपचारमा लागिरहेको बताए । उनले थप अवस्था नबिग्रिएकाले आशावादी भएको भन्दै ७२ घण्टा थप नबिग्रिएमा अवस्थामा सुधार आउनसक्ने बताए । ‘अवस्था थप नबिग्रियोस् भनेर डाक्टरहरूले जोशीलाई ट्युब फिडिङ, ब्लड प्रेसर बढाउने अनोट्रप्स, दिमाग नसुन्नियोस् भनेर औषधि चलाइएको छ भने निमोनियाँ नदेखियोस् भनेर पनि औषधि चाहिएको छ’, डा. झाले भने ।

प्रतिक्रिया