मानव सेवा आश्रमलाई चार करोडको जग्गा प्रदान

मोरङ । सडक पेटीमा वस्ने, भोको पेट रात काट्ने र सहयोगापेक्षी मानवको उचित बसोवासका गर्न भवन निर्माणका लागि शुक्रबार विराटनगरका मानवकारी दाताका परिवारले चार करोड मूल्य बरावरको जग्गा प्रदान गरेका छन् । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको सक्रिय योगदानमा विराटनगर–५ का उदार हृदयका खड्का परिवारले चार करोड मूल्य बराबरको ६ कठ्ठा जग्गा प्रदान गरेका हुन् । डम्बर सतसंग सदगुरु कविर सेवा आश्रमकी अध्यक्ष सुशिला भट्टराईले मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलाई विराटनगर–५ स्थित ६ कठ्ठा जग्गाको कागजपत्र हस्तान्तरण गरिन् । स्व.डम्बरबहादुर खड्काले आफनो मृत्यु पछि मानवसेवाको हितमा काम गर्न भने अनुसार खडका परिवारका सदस्यहरूले कविर आश्रमको नाममा रहेको १३ कठ्ठा जग्गा मध्ये ६ कठ्ठा जग्गा प्रदान गरिएको हो ।
महानगरपालिकाका प्रमुख पराजुलीले मानव सेवा प्रवद्र्धन कार्य गरेकोमा दाता परिवारले पूण्यको काम गरेको चर्चा गर्दै छोरो छोरीले वृद्ध आमाबुबालाई ज्येष्ठ नागरिक गृहमा पठाउने कार्य बन्द गर्न आग्रह गरे ।

उनले भविष्यमा सेवा आश्रम के हो भन्ने अनुसन्धान गर्न विश्वभरका नागरिक नेपाल आउने चर्चा गर्दै आश्रमको विराटनगरमा भएको तीन भवनको वहाल महानगरले भुक्तानी गरिरहेको बताए । प्रमुख पराजुलीले प्राप्त जग्गामा सहयोगापेक्षीलाई राख्न लागि आवश्यक भवन निर्माण गर्न चाँडै विराटनगरमा नेपालका प्रसिद्ध कलाकारहरूको उपस्थितिमा बृहत् सांगीतिक कार्यक्रमको आयोजना गर्ने जानकारी दिए । मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष अधिकारीले मानवीय कार्यको लागि जग्गा उपलब्ध गराएर समाजमा प्रेरणा प्रदान गरेको बताउँदै आश्रमले सुरु गर्न लागेको ज्येष्ठ नागरिक मनोरञ्जनका लागि महानगरको सहयोगका लागि आग्रह गरे ।

दाता संस्थाकी अध्यक्ष भट्टराई र स्व. खडका वुहारी जमुना खड्का, गुराँस पुस्तकालयका अध्यक्ष दीपक चापागाई लगायतले दुःख र पीडामा सहयोग गर्न पाउँदा खुसी लागेको लागेको चर्चा गर्दै आगामी दिनमा थप सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । कविर आश्रमको बाँकी रहेको सात कठ्ठा जग्गामा मानव सेवा आश्रमले वाटिका लगाउने सोही अवसरमा जानकारी दिइयो । सोही अवसरमा दाताहरू खडका परिबारका सदस्यहरू एवं कवि आश्रमका पदाधिकारीहरूलाई सम्मान गरिएको थियो । विराटनगरस्थित तीन आश्रममा हाल २ सय ४६ जना सहयोगापेक्षीको बसोवास रहेको छ ।

प्रतिक्रिया