डा. हर्कबहादुरको सालिक

काठमाडौं । साहित्यकार, शिक्षाविद् डा. हर्कबहादुर बुडामगरको योगदानको कदर गर्दै सालिक निर्माण गरिएको छ । हर्कबहादुर बुडामगर प्रतिष्ठानले कपिलवस्तुको बाणगंगा नगरपालिका–९ कपिलधाम परिसरमा उनको सालिक निर्माण गरेको हो । बुडामगरको १०औं स्मृति दिवसमा प्रतिष्ठानका संरक्षक एवं पूर्वमन्त्री दिपक बोहरा र हर्कबहादुरकी जेठी छोरी गीतकार उन्नती बोहरा ‘शिला’ ले सालिकको अनावरण गरे । प्रतिष्ठानका अध्यक्ष शिलाको अध्यक्षतामा भएको सो कार्यक्रममा विभिन्न साहित्यकार, कलाकार तथा बुद्धिजीवीको उपस्थिति रहेको थियो । कार्यक्रममा बुडामगरको व्यक्तित्व तथा कृतित्वमाथि विभिन्न अतिथिले चर्चा गरे । लाहुेर जीवनबाट अवकाश प्राप्त गरेर विधावारिधि गरेका उनी त्यसपछि साहित्यलेखनमा सक्रिय भएको उनीहरुले बताए ।

डा. बुडामगरले डा. केआई सिंहको जीवनी, किरातवंश र मगरहरुको एक ऐतिहासिक सर्वेक्षण, मगर व्याकरणको प्रारुप, अतृप्त जिन्दगीका असीमित चाहना (उपन्यास) सहित लगायतका कृति लेखेका थिए । पक्लिहवा मावि, भैरहवा बहुमुखी क्याम्पसका संरक्षकसमेत रहेका बुडामगरले शिक्षा क्षेत्रमा पनि त्यत्तिकै योगदान दिएको प्राज्ञ उन्नती बोहरा शिलाले बताइन् । कार्यक्रममा अध्ययन र सिर्जनालाई उमेरले रोक्दैन भन्ने प्रेरणा उनले भावी पुस्तालाई समेत दिएको पूर्वमन्त्री बोहराले बताए । उनी विधावारिधि गर्ने नेपालको पहिलो लाहुरे (आर्मी) रहेको पनि शिलाले प्रकाश पारिन् ।

प्रतिक्रिया