प्रतिनिधिसभा : काम नभएको दुई महिनाको तलब बाढिदै

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभाको अवस्था पुष ४ मा फर्काइदिएपनि सांसदको तलब भने फागुनसम्म पुगेको छ । प्रतिनिधिसभा विघटन भएर काम नभएको दुई महिनाको तलब पनि सांसदले पाउने भएका हुन् । प्रतिनिधि सभा पुनःस्थापना भएपछि सांसद र उनिहरुका पिएले ३ महिनाको तलब एकैपटक पाउने भएका छन् । संघीय संसद् सचिवालयले प्रतिनिधि सभाका सदस्य र तिनका पिएलाई पुस, माघ र फागुन महिनाको तलब एकमुष्ट रूपमा पठाउने तयारी गरेको जनाएको छ । फागुन २५ गते अगावै तीन महिनाको तलब सांसदको खातामा पठाउने तयारी भइरहेको सचिवालयका प्रमुख लेखा अधिकृत वसन्त सिग्देलले लोकान्तरलाई जानकारी दिए । पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि सांसदहरूको तलब भत्ता रोकिएको थियो ।

सरकारी कर्मचारीसरह सांसदहरूको तलब २५ गते बैंक खातामा हाल्ने चलन छ । मंसिर महिनाको पूरै तलब बुझेपनि सांसदहरूले विघटनअघि पुसको ५ दिनको तलब समेत पाएका थिएनन् । प्रमुख लेखा नियन्त्रक सिग्देलका अनुसार मंसिर महिनामा प्रतिनिधि सभाका सांसदहरूका लागि १ करोड ९४ लाख २० हजार पठाइएको थियो । २७५ सांसद रहने प्रतिनिधि सभामा हाल २७४ सांसद बहाल छन् । ती मध्ये ४ जना निलम्बनमा छन् । मन्त्री रहेका प्रतिनिधि सभा सदस्यहरूले भने संसदबाट तलब बुझ्दैनन् । सांसदहरुको तलब मासिक ५५ हजार २३० रुपैयाँ रहेको छ । प्रमुख प्रतिपक्षी दलका नेता, समितिका सभापति र दलका सचेतकलगायतको भने सांसदको भन्दा बढी छ । सांसदका पिएका लागि मंसिर महिनामा मात्रै १ करोड ५ लाख ६८ हजार रुपैयाँ भुक्तानी गरिएको थियो । अब सांसदहरुले ५ करोड ८२ लाख र पिएहरुका लागि तीन महिनाको ३ करोड १७ लाख रुपैयाँ भन्दा बढि पाउनेछन् ।

सांसदका पिएले अधिकृत स्केलको तलब बुझ्ने गर्छन् । सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधि सभा विघटन असंवैधानिक भनेपछि काम नभएपनि सांसदहरूले पूरै महिनाको तलब पाउने छन् । संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सदस्यका लागि सचिवालयले प्रत्येक महिना ४८ लाख ८ हजार रुपैयाँ पठाउँदै आएको छ । ५९ सदस्य रहेको राष्ट्रिय सभाका सदस्य रामबहादुर थापा मन्त्री छन् । राष्ट्रिय सभाका सांसदका पिएको लागि २८ लाख ४२ हजार प्रति महिना खर्च हुने गरेको छ । प्रतिनिधि सभा विघटन भएपनि राष्ट्रिय सभाका सांसद र पिएले भने पुस र माघ महिनाको तलब लिइसकेका छन् । राष्ट्रिय सभा सदस्य वामदेव गौतम सांसद बनेको ५ महिनासम्म खातामा पैसा गएको छैन । प्रमुख लेखा नियन्त्रक सिग्देलले गौतमको खातामा पैसा जान नसकेको जानकारी दिए । गौतम असोज १ गते राष्ट्रिय सभाको सदस्य मनोनित भएर सोही दिन शपथ लिएका थिए ।

खातासम्बन्धी प्राविधिक कारणले गौतमको खातामा पारिश्रमिकको रकम जान नसकेको सिग्देलले जानकारी दिए । नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य बनेका मोहन पाण्डेको खातामा जम्मा २२ दिनको पारिश्रमिक ४९ हजार २० र भत्ता गरी कुल ५६ हजार ९ सय ८३ मात्र गएको थियो । सूर्यबहादुर केसीको निधन पछि मंसिर ८ गते पाण्डे सांसद बनेको १ महिना बित्न नपाउँदै प्रतिनिधि सभा विघटन भएको थियो । बैठक भत्ताबाहेक सांसदहरूले प्रतिमहिना ६४ हजार ७० रुपैयाँ पाउने गरेका छन् । संसदको बैठक बसेको दिनमा बैठक भत्ता र ट्याक्सी भाडा तथा संसदीय समितिको बैठक बसेको दिनमा भत्ता पाउने व्यवस्था सांसद तथा पदाधिकारीको सेवा सुविधासन्बन्धी ऐनमा गरिएको छ । प्रतिनिधि सभा पुनःस्थापना भएपछि संसदीय समितिका सभापति, प्रमुख दलका सचेतकहरूले गाडी र इन्धनको सुविधा पनि पाउने छन् । संसद् अधिवेशनमा आउँदा सांसदहरूले जहाजको टिकटको रकम पनि पाउँछन् ।

प्रतिक्रिया